देवघाटधामको प्रचारप्रसारका लागि आजदेखि गण्डकी परिक्रमा महोत्सव
दमौली । प्रसिद्ध धार्मिकस्थल देवघाटधामको धार्मिक तथा सांस्कृतिक महत्व प्रचारप्रसार गर्ने उद्देश्यले आजदेखि गण्डकी परिक्रमा महोत्सव आयोजना गरिएको छ। नेपाल सन्त समाजको आयोजना तथा देवघाट गाउँपालिका र देवघाट क्षेत्र विकास समितिको समन्वयमा महोत्सव सुरु भएको हो।
महोत्सवअन्तर्गत देवघाटधामको पूर्ण परिक्रमा गर्ने गरी २६ किलोमिटर लामो पदयात्रा सञ्चालन गरिने कार्यक्रम संयोजक फणिन्द्रप्रसाद पौडेलले जानकारी दिनुभयो। पदयात्रा देवघाटधामस्थित बेणी सङ्गमबाट सुरु भई तनहुँ, चितवन र नवलपुर जिल्लाका विभिन्न धार्मिक तथा सांस्कृतिक स्थलको परिक्रमा गर्दै पुनः तनहुँको देवपुरस्थित मणिमुकुन्देश्वर चक्रवर्ती आश्रममा पुगेर समापन हुनेछ।
परिक्रमाका क्रममा पशुपतिनाथ मन्दिर, गङ्गा मन्दिर, अघोर आश्रम, गलेश्वर आश्रम, राम मन्दिर, लक्ष्मीनारायण मन्दिर, मौलाकालिका भगवती मन्दिर, गोपेश्वर महादेव मन्दिरलगायत विभिन्न मठमन्दिर, आश्रम र गुम्बाको दर्शन तथा परिक्रमा गरिनेछ।
महोत्सवमार्फत देवघाट क्षेत्रको धार्मिक महत्व र भौतिक विकासलाई प्रवर्द्धन गर्नुका साथै वैदिक सनातन धर्म तथा संस्कृतिको प्रचारप्रसार गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ। महोत्सवको पूर्वसन्ध्यामा आइतबार देवघाट क्षेत्रमा मोटरसाइकल र्यालीसमेत निकालिएको थियो।

