पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सहप्राध्यापक र उपप्राध्यापक पदमा दरखास्त आह्वान
ललितपुर । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले विभिन्न संकायमा सहप्राध्यापक र उपप्राध्यापक पदका लागि दरखास्त आह्वान गरेको छ। प्रतिष्ठानको रजिस्ट्रार कार्यालयले कार्यसम्पादन करार सेवामार्फत पदपूर्ति गर्न योग्य नेपाली नागरिकबाट आवेदन माग गरेको हो। इच्छुक उम्मेदवारले आगामी नोभेम्बर ३० अर्थात् मंसिर १४ गतेभित्र आवेदन दिन सक्नेछन्।
प्रतिष्ठानका अनुसार युरोलोजी, न्युरोलोजी, इन्टरनल मेडिसिन, ग्यास्ट्रोएन्टेरोलोजी, हेमाटोलोजी, अर्थोपेडिक्स, अप्थाल्मोलोजीलगायत विभिन्न विधामा सहप्राध्यापक पदका लागि दरखास्त खुलाइएको छ। त्यस्तै, कार्डियोलोजी, अर्थोपेडिक्स, साइकियाट्री, मेडिकल अन्कोलोजी, इएनटी, पेडियाट्रिक अप्थाल्मोलोजी तथा एडल्ट हेल्थ नर्सिङलगायत विधामा उपप्राध्यापक पदका लागि आवेदन माग गरिएको छ।
चिकित्सकतर्फका पदमा आवेदन दिन सम्बन्धित विषयमा एमडी, एमएस, डीएम, एमसीएच वा फेलोसिप हासिल गरी नेपाल मेडिकल काउन्सिलमा विशेषज्ञका रूपमा दर्ता भएको हुनुपर्नेछ। नर्सिङतर्फ भने सम्बन्धित विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरी नेपाल नर्सिङ काउन्सिलमा दर्ता भएको हुनुपर्नेछ।
आवेदनका लागि शैक्षिक योग्यताका प्रमाणपत्र, व्यक्तिगत विवरण, पासपोर्ट साइजको फोटो र निवेदन पेस गर्नुपर्नेछ। आवेदन फाराम प्रतिष्ठानको कार्यालय वा आधिकारिक वेबसाइटबाट प्राप्त गर्न सकिनेछ। प्रतिष्ठानले अन्तर्वार्ताका समयमा सक्कल प्रमाणपत्र अनिवार्य रूपमा प्रस्तुत गर्नुपर्ने जनाएको छ। परीक्षाको मिति र समय भने पछि सार्वजनिक गरिनेछ।

