टप एन्ड टी–२० मा नेपाल ‘ए’को परीक्षा, अवसरको सदुपयोग होला ?

काठमाडौँ, ३१ साउन – नेपाली क्रिकेटको विकास र नयाँ खेलाडीलाई अवसर दिने उद्देश्यसहित नेपाल ‘ए’ टोली अष्ट्रेलियाको टप एन्ड टी–२० सिरिजमा सहभागी हुँदैछ। नेपालले यस प्रतियोगितामा दोस्रोपटक सहभागिता जनाउन लागेको हो। यसपटक नेपाल क्रिकेट सङ्घले सिनियर टोलीको सट्टा ‘ए’ टोलीलाई अष्ट्रेलिया पठाउन लागेको हो। अनिलकुमार साहको कप्तानीमा रहेको टोलीमा अनुभवी र युवा खेलाडीको मिश्रण छ। टोली सन्तुलित रहेकाले राम्रो नतिजा निकाल्नेमा प्रशिक्षक तथा खेलाडी आशावादी छन्।

नेपाल ‘ए’ टोलीका मुख्य प्रशिक्षक राजु बस्न्यातले खेलाडीले पछिल्लो १०–१२ दिनदेखि नियमित अभ्यास गरेकाले अष्ट्रेलियामा सकारात्मक नतिजा निकाल्ने सम्भावना रहेको बताउनुभएको छ। अष्ट्रेलियाको पिच र त्यहाँको खेल परिस्थितिसँग घुलमिल हुनु चुनौतीपूर्ण भए पनि खेलाडीले राम्रो प्रदर्शन गर्ने उहाँको विश्वास छ। प्रशिक्षक बस्न्यातका अनुसार टोलीमा अनुभवी तथा युवा खेलाडीको राम्रो संयोजन छ। अष्ट्रेलियामा टी–२०सँगै ५० ओभरको क्रिकेटमा पनि खेलाडीको क्षमता परीक्षण गर्ने अवसर मिल्नेछ।

उहाँले नेपाली क्रिकेटलाई दीर्घकालीन रूपमा बलियो बनाउन ‘ए’ टोलीको अवधारणा महत्वपूर्ण रहेको बताउनुभएको छ। ‘ए’ टोलीबाट नयाँ खेलाडीले सिनियर टोलीमा स्थान बनाउने र सिनियर टोलीका खेलाडीले समेत आफ्नो लय फर्काउन सक्ने भएकाले यसले नेपाली क्रिकेटको आधार बलियो बनाउने उहाँको भनाइ छ।

नेपाल ‘ए’ टोलीका कप्तान अनिलकुमार साहले पनि टोलीले प्रतियोगिताका लागि राम्रो तयारी गरेको बताउनुभएको छ। उहाँका अनुसार पछिल्लो आठ–१० दिनदेखि मुख्य प्रशिक्षकको निगरानीमा निरन्तर अभ्यास गरिएको छ। अष्ट्रेलियाको परिस्थितिअनुसार कसरी खेल्ने भन्ने विषयमा योजनाबद्ध प्रशिक्षण गरिएको उहाँले जानकारी दिनुभयो।

कप्तान साहले टप एन्ड टी–२० जस्तो प्रतियोगितामा सहभागी हुने अवसरलाई नेपाल ‘ए’ टोलीले सदुपयोग गर्ने बताउनुभएको छ। कम समयमा समेत नेपाल क्रिकेट सङ्घले प्रशिक्षण शिविर आयोजना गरेर तयारीको अवसर दिएको भन्दै उहाँले सङ्घलाई धन्यवाद दिनुभएको छ।

नेपालले यसअघि गत संस्करणको टप एन्ड टी–२० सिरिजमा सिनियर पुरुष टोली पठाएको थियो। त्यतिबेला नेपालले लिग चरणका छमध्ये दुई खेलमा जित निकाल्दा चार खेलमा पराजय व्यहोरेको थियो। यसपटक भने अघिल्लो नतिजामा सुधार गर्दै उपाधिका लागि प्रतिस्पर्धा गर्ने लक्ष्य नेपाल ‘ए’ टोलीको छ।

प्रतियोगितामा नेपाल ‘ए’ले पहिलो खेल अगस्ट २१ मा नर्दन टेरिटोरी स्ट्राइकविरुद्ध खेल्नेछ। त्यसपछि अगस्ट २२ मा बङ्गलादेश हाई पर्फर्मेन्स, अगस्ट २४ मा होबार्ट हरिकेन्स, अगस्ट २६ मा अस्ट्रेलियन क्यापिटल टेरिटोरी, अगस्ट २७ मा हैदराबाद किङ्समेन एकेडेमी र अगस्ट २९ मा भिक्टोरिया सीए–११ विरुद्ध खेल्ने तालिका छ।

टप एन्ड टी–२० सिरिजपछि नेपाल ‘ए’ले न्युजिल्यान्ड ‘ए’, तास्मानिया र साउथ अष्ट्रेलियाविरुद्ध एकदिवसीय अभ्यास खेलसमेत खेल्नेछ। सिनियर नेपाली टोली एसिसी प्रिमियर लिगमा व्यस्त हुने भएकाले नेपाल क्रिकेट सङ्घले ‘ए’ टोलीलाई अष्ट्रेलिया पठाएको हो। अष्ट्रेलिया जाने नेपाल ‘ए’ टोलीमा कप्तान अनिलकुमार साहसहित कुशल भुर्तेल, लोकेश बम, तृतराज दास, मयन यादव, कुशल मल्ल, राशिद खान, पवन सर्राफ, दीपक डुम्रे, नारायण जोशी, आकाश चन्द, शाहब आलम, विपिन खत्री, रिजन ढकाल र युवराज खत्री रहेका छन्।

अष्ट्रेलियाको बलियो क्रिकेट संरचना र फरक खेल परिस्थितिमा नेपाल ‘ए’ टोलीका युवा तथा अनुभवी खेलाडीको प्रदर्शन नेपाली क्रिकेटका लागि महत्वपूर्ण परीक्षा बन्नेछ। प्रतियोगिताले खेलाडीको क्षमता परीक्षणसँगै भविष्यका लागि राष्ट्रिय टोलीमा नयाँ विकल्प तयार गर्ने अवसरसमेत दिने अपेक्षा गरिएको छ।

Facebook Comments Box