भारतीय प्रधानमन्त्री मोदीसँग आज प्रधानमन्त्री शाहको भेटवार्ता हुँदै
काठमाडौँ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहले आज भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्दै हुनुहुन्छ। आइतबार नयाँदिल्ली पुग्नुभएका प्रधानमन्त्री शाहले आज बिहान ११ बजे भारतीय समयअनुसार हैदराबाद हाउसमा मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ।
भेटवार्ताअघि बिहान १० बजे राष्ट्रपति भवनमा प्रधानमन्त्री शाहको औपचारिक स्वागत गरिनेछ। त्यसपछि उहाँले महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ। मोदीसँग करिब आधा घण्टा भेटवार्ता गरेपछि दिउँसो १२ बजेर २५ मिनेटमा नेपाल र भारतबीच विभिन्न समझदारीपत्र आदानप्रदान तथा संयुक्त प्रेस वक्तव्य जारी गर्ने तालिका छ।
भ्रमणका क्रममा आर्थिक साझेदारी, यातायात तथा डिजिटल कनेक्टिभिटी, जलस्रोत, ऊर्जा, व्यापार, खेलकुद, शिक्षा र स्वास्थ्यलगायत क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल हुने अपेक्षा गरिएको छ। नयाँ हवाई रुटका विषयमा समेत महत्त्वपूर्ण उपलब्धि हासिल हुने प्रधानमन्त्री शाहले अपेक्षा गर्नुभएको छ।
प्रधानमन्त्री शाहले आज दिउँसो ३ बजेर १५ मिनेटमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ। प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि शाहको यो पहिलो राजकीय भारत भ्रमण हो। भ्रमण टोलीसहित उहाँ आजै अपराह्न ४ बजेर ५० मिनेटमा स्वदेश फर्किने कार्यक्रम रहेको छ।

