चिसो बढेसँगै सगरमाथा क्षेत्रबाट पर्यटक फर्किने क्रम तीव्र, एक सातामा १ हजार १८० बाहिरिए
काठमाडौँ । हिउँदको चिसो बढ्न थालेसँगै सगरमाथा क्षेत्र घुम्न पुगेका पर्यटक फर्किने क्रम बढेको छ। पछिल्लो एक सातामा खुम्बु क्षेत्रबाट हवाई मार्ग हुँदै बाहिरिने पर्यटकको सङ्ख्या प्रवेश गर्नेको तुलनामा दोब्बरभन्दा बढी रहेको छ। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको साप्ताहिक तथ्याङ्कअनुसार पछिल्लो सात दिनमा एक हजार १८० पर्यटक खुम्बु क्षेत्रबाट बाहिरिएका छन् भने ५२९ जना प्रवेश गरेका छन्। प्रवेश गर्नेभन्दा बाहिरिने पर्यटकको सङ्ख्या ६५१ ले बढी छ।
बाहिरिने पर्यटकमध्ये ८७७ जना विदेशी र ३०३ जना नेपाली रहेका छन्। यसैगरी, खुम्बु क्षेत्रमा प्रवेश गर्नेमा ३७४ विदेशी र १५५ नेपाली पर्यटक छन्। नाम्चे क्षेत्रमा समेत रातिको तापक्रम माइनसमा झर्न थालेपछि पानी जम्न थालेको स्थानीयले बताएका छन्। चिसो बढेसँगै पर्यटकले यात्रा छोट्याएर फर्किन थालेका हुन्।
सगरमाथा क्षेत्रको मुख्य पर्यटकीय सिजनमध्ये असोज र कात्तिकमा पर्यटकको चाप बढी हुने गर्दछ। मनसुन सकिएपछि मौसम खुल्ने र हिमाल स्पष्ट देखिने भएकाले शरद् ऋतुमा स्वदेशी तथा विदेशी पर्यटकको आगमन बढ्ने गरेको छ। तर, कात्तिकको उत्तरार्धसँगै तापक्रम घट्ने, उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना बढ्ने र पदयात्रा कठिन हुँदै जाने भएकाले पर्यटक फर्किने क्रम तीव्र हुने गरेको पर्यटन व्यवसायीले बताएका छन्।
सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष तथा पर्यटन व्यवसायी लामाकाजी शेर्पाका अनुसार चिसो र मौसमको अवस्थाले पर्यटकको बसाइ अवधि तथा पदयात्राका गतिविधिमा प्रभाव पार्ने गरेको छ। प्रहरीको तथ्याङ्कअनुसार पछिल्लो सात दिनमा खुम्बु क्षेत्रमा ६९ वटा हवाईजहाज र २८ वटा हेलिकप्टर उडान भएका छन्। सगरमाथा आधार शिविर, नाम्चे बजार, गोक्यो, खुम्जुङ, थामे र लुक्लालगायत क्षेत्र मुख्य पर्यटकीय गन्तव्य हुन्। यहाँ वसन्त र शरद् ऋतुमा पर्यटकको चाप बढी हुने गरे पनि जाडो सुरु भएसँगै पर्यटन गतिविधि क्रमशः घट्दै जाने गरेको छ।

