जलवायु परिवर्तनसम्बन्धी सचेतना बढाउन १० बालबालिका सद्भावना दूत बनाइने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले जलवायु परिवर्तनका असर न्यूनीकरण र अनुकूलनमा बालबालिकाको सहभागिता बढाउन १० जनालाई ‘जलवायु परिवर्तन सद्भावना दूत’ बनाउने भएको छ। महानगरपालिकाले आजदेखि सुरु गरेको ‘काठमाडौँ जलवायु कार्य सप्ताह २०८३’ अन्तर्गत भिडियो प्रतियोगिता आयोजना गरी उत्कृष्ट १० जना विद्यार्थीलाई सद्भावना दूतका रूपमा चयन गर्न लागेको हो।
प्रतियोगितामा महानगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा कक्षा ६ देखि १२ सम्म अध्ययनरत विद्यार्थी सहभागी हुन सक्नेछन्। प्रतियोगितामा प्रथम हुनेले ५० हजार, दोस्रो हुनेले ३० हजार र तेस्रो हुनेले २० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। त्यस्तै, सात जनालाई जनही १० हजार रुपैयाँ सान्त्वना पुरस्कार प्रदान गरिनेछ।
छनोट भएका १० जना सद्भावना दूतले वर्षभरि जलवायु परिवर्तनसम्बन्धी सचेतना तथा गतिविधिमा बालबालिकाको सहभागिता प्रवर्द्धन गर्नेछन्। महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि छलफलमा मात्र सीमित नभई व्यावहारिक काम अघि बढाउन कार्य सप्ताह आयोजना गरिएको बताउनुभयो।
एक सातासम्म सञ्चालन हुने कार्यक्रममा जलवायु वित्त, स्वच्छ ऊर्जा, जलवायु अनुकूल पूर्वाधार, सम्पदा संरक्षण, खाद्य प्रणाली तथा बालबालिका र युवाको सहभागितालगायत विषयमा छलफल तथा विभिन्न गतिविधि सञ्चालन गरिनेछ। कार्यक्रमअन्तर्गत विद्यालयहरूमा वर्षाको पानी जमिनमुनि पुनर्भरण गर्ने व्यवस्था, फोहोर वर्गीकरण, वृक्षरोपण योजना र वातावरणीय सचेतनाका गतिविधि सञ्चालन गरिनेछ। त्यस्तै, ५० भन्दा बढी विद्यालयमा एकैपटक जलवायुसम्बन्धी कार्यक्रम आयोजना गर्ने महानगरको तयारी छ।
कार्य सप्ताहको पहिलो दिन भोटेकोशी बाढी प्रभावित क्षेत्रका स्थानीय तहका जनप्रतिनिधिसँग जलवायु परिवर्तनका असरबारे अनुभव आदानप्रदान गरिनेछ। साथै, राष्ट्रिय सभागृहबाट ‘रिचार्ज काठमाडौं अभियान’ पनि सुरु गरिनेछ। महानगरपालिकाले साताव्यापी कार्यक्रममार्फत जलवायु परिवर्तनका असर न्यूनीकरण, अनुकूलन र वातावरण संरक्षणमा स्थानीय तहदेखि बालबालिका तथा समुदायसम्मको सहभागिता बढाउने लक्ष्य राखेको जनाएको छ।

