लुम्बिनीलाई १० विकेटले हराउँदै सुदूरपश्चिम बन्यो एनपीएल च्याम्पियन

काठमाडौँ । साविक विजेता लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणको उपाधि जितेको छ। शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनलमा लुम्बिनीले दिएको १५६ रनको लक्ष्य सुदूरपश्चिमले कुनै पनि विकेट नगुमाई १३ ओभर ३ बलमा पूरा गर्‍यो।

सुदूरपश्चिमको जितमा ओपनर जर्ज मुन्सेले विस्फोटक ब्याटिङ गर्दै अविजित १२५ रन बनाए। उनले ५४ बलमा ८ चौका र १२ छक्का प्रहार गरे। यो जारी प्रतियोगिताकै सर्वाधिक व्यक्तिगत स्कोर हो। त्यस्तै, विनोद भण्डारीले अविजित ३० रनको योगदान दिए। मुन्से र भण्डारीबीच पहिलो विकेटका लागि १५८ रनको अविजित साझेदारी भएको थियो।

यससँगै मुन्से जारी एनपीएलमा शतक प्रहार गर्ने तेस्रो खेलाडी बनेका छन्। समग्रमा प्रतियोगिताको यो छैटौँ शतक हो। त्यसअघि टस जितेर पहिले बलिङ रोजेको सुदूरपश्चिमविरुद्ध ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको थियो।

लुम्बिनीका लागि कप्तान रोहित पौडेलले ३०, निरोशन डिकवेल्लाले २८, डार्सी सर्टले २१ र दिलीप नाथले अविजित ३९ रन बनाए। अली शेखले २४ रनको योगदान दिए। सुदूरपश्चिमका स्कट कुगेलाइनले दुई विकेट लिए भने हेमन्त धामी, थरिन्दु रत्नायके र दीपेन्द्रसिंह ऐरीले समान एक विकेट लिए।

लगातार तेस्रो पटक फाइनल खेलेको सुदूरपश्चिमले यसपटक उपाधि जित्न सफल भएको हो। यसअघि पहिलो संस्करणको फाइनलमा जनकपुर बोल्ट्ससँग र दोस्रो संस्करणमा लुम्बिनी लायन्ससँग पराजित भएको थियो। पहिलो संस्करण जनकपुर बोल्ट्स र दोस्रो संस्करण लुम्बिनी लायन्सले जितेका थिए। यससँगै एनपीएलको लगातार तेस्रो संस्करणमा फरक टोली च्याम्पियन बनेका छन्। लुम्बिनी भने लगातार दोस्रो पटक उपाधि जित्ने अवसरबाट चुकेको छ।

Facebook Comments Box