लुम्बिनी लायन्स एनपीएलको च्याम्पियन, सुदूरपश्चिम फेरि उपविजेतामै सीमित
काठमाडौं, २७ मंसिर – लुम्बिनी लायन्सले साविक उपविजेता सुदूरपश्चिम रोएल्सलाई पराजित गर्दै सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जितेको छ। फाइनलमा शानदार प्रदर्शन गर्दै लुम्बिनी एनपीएलको नयाँ च्याम्पियन बनेको हो भने सुदूरपश्चिम लगातार दोस्रो पटक उपविजेतामै सीमित भयो।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न फाइनलमा लुम्बिनीका कप्तान रोहित पौडेल, शेर मल्ल र रुबेन ट्रम्पलम्यानको उत्कृष्ट बलिङपछि सुदूरपश्चिम १९.१ ओभरमा मात्र ८५ रनमा अलआउट भएको थियो।
सुदूरपश्चिमले दिएको ८६ रनको सामान्य लक्ष्य लुम्बिनीले ९ ओभरमै ४ विकेट गुमाउँदै पूरा गर्यो। यससँगै लुम्बिनीले पछिल्ला ६ खेलमा लगातार जित निकाल्दै उपाधि उचाल्न सफल भयो।
लिग चरणको सुरुआतमा चितवन राइनोजलाई पराजित गरेपछि लगातार तीन खेलमा हार बेहोरेको लुम्बिनी कुनै समय प्रतियोगिताबाटै बाहिरिने अवस्थामा पुगेको थियो। तर त्यसपछि सानदार पुनरागमन गर्दै लुम्बिनीले उपाधि यात्रा पूरा गरेको हो।
लुम्बिनीको जितमा ओपनर दिनेश अधिकारीले आक्रामक ब्याटिङ गरे। उनले सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीको पहिलो ओभरमा चार छक्का प्रहार गर्दै २७ रन जोडे। दिनेशले १३ बलमा १ चौका र ५ छक्कासहित ४२ रन बनाए।
पहिलो विकेटका लागि दिनेश र डार्शी सर्टले ४ ओभरमै ५८ रनको साझेदारी गरे। पाँचौं ओभरमा हेमन्त धामीले सर्ट र दिनेश दुवैलाई आउट गर्दै साझेदारी तोडे। सर्ट १४ बलमा १३ रन बनाएर बोल्ड भए भने दिनेश तेस्रो बलमा क्याचआउट भए।
कप्तान रोहित पौडेलले १२ बलमा २ चौका र १ छक्कासहित १६ रन बनाए। निरोशन डिकवेलाले १२ बलमा अविजित ११ रन जोडे भने दिलिप नाथले विजयी रन प्रहार गरे।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोएल्स ८५ रनमै समेटिएको थियो। यो योगफल एनपीएल इतिहासकै संयुक्त रूपमा चौथो न्यून स्कोर हो भने फाइनलको सबैभन्दा कम योगफल पनि हो।
सुदूरपश्चिमका लागि ओपनर इशान पाण्डेले सर्वाधिक ३३ रन बनाए। ५१ बल खेलेका उनले एक चौका प्रहार गरे। चौथो विकेटका लागि उनले कप्तान दीपेन्द्रसँग २५ रनको साझेदारी गरे। दीपेन्द्रले २० बलमा १ छक्कासहित १३ रन जोडे। हर्मित सिंह र स्कट कुगेलेइनले समान १० रन बनाए।
लुम्बिनीको बलिङ आक्रमणमा कप्तान रोहित पौडेल, रुबेन ट्रम्पलम्यान र शेर मल्लले समान ३–३ विकेट लिए। रोहितले ११औं ओभरमा लगातार तीन विकेट लिँदै ह्याट्रिक पूरा गरे। उनले दीपेन्द्र सिंह ऐरी, दीपक बोहरा र पुनित मेहरालाई आउट गरे। रोहितले ४ ओभरमा १२ रन मात्र खर्चिए।
रुबेन ट्रम्पलम्यानले २.१ ओभरमा ३ रन खर्चेर ३ विकेट लिए भने शेर मल्लले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट हात पारे। तिलक भण्डारीले ४ ओभरमा २६ रन खर्चेर १ विकेट लिए।


