कार्तिक नाचमा नरसिंह अवतारको कथा मञ्चन
ललितपुर । ललितपुरको पाटन दरबार क्षेत्रस्थित कार्तिक डबलीमा सञ्चालन भइरहेको ऐतिहासिक कार्तिक नाचको दशौँ दिन आइतबार साँझ ‘नरसिंह अवतार’ अर्थात् हिरण्यकश्यपु वधको नाच प्रस्तुत गरिएको छ। गत कात्तिक २७ गतेदेखि सुरु भएको नाचमा भगवान् विष्णुको नरसिंह अवतार र हिरण्यकश्यपु वधको पौराणिक कथालाई नृत्य तथा अभिनयमार्फत प्रस्तुत गरिएको हो।
मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले नेपाल संवत् ७६१ अर्थात् सन् १६४१ मा सुरु गरेको मानिने कार्तिक नाच नेपालको ऐतिहासिक तथा सांस्कृतिक सम्पदाका रूपमा परिचित छ। यस वर्षको नाचमा भक्त सुरदास प्याखँ, माधवानर लीला, बाठा तालेश, जलशयन, वराह अवतार र नरसिंह अवतारलगायत धार्मिक प्रसङ्ग प्रस्तुत गरिएका छन्।
कार्तिक नाच संरक्षण समितिको आयोजनामा हरेक दिन साँझ ७ बजे सञ्चालन हुँदै आएको नाच मंगलबार मंसिर ८ गते ‘वस्त्रहरण लीला’ र ‘दधि लीला’ प्रस्तुत गरेसँगै समापन हुनेछ। धार्मिक तथा सांस्कृतिक महत्व बोकेको कार्तिक नाचले नेवारी कला, संस्कृति, परम्परा र मौलिक नृत्य शैलीको संरक्षण तथा पुस्तान्तरणमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ। नाच अवलोकनका लागि स्वदेशी तथा विदेशी दर्शकको उल्लेख्य उपस्थिति रहने गरेको छ।

