कांग्रेस गण्डकी प्रदेश अधिवेशनमा विवाद, सभापति र महामन्त्री निर्विरोध घोषणा भएपछि असन्तुष्टि

पोखरा । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको नियमित महाधिवेशनअन्तर्गत सुरु भएको गण्डकी प्रदेश अधिवेशनमा विवाद उत्पन्न भएको छ। अधिवेशनको उद्घाटनसत्र सकिएलगत्तै प्रदेश सभापतिमा मेखलाल श्रेष्ठ र महामन्त्रीमा पोषनाथ शर्मा निर्विरोध निर्वाचित भएको घोषणा गरिएपछि विवाद सुरु भएको हो।

मुख्य निर्वाचन अधिकृत वीरेन्द्र केसीले श्रेष्ठलाई सभापति र शर्मालाई महामन्त्रीमा निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा गर्नुभएको थियो। तर, निर्वाचन कार्यतालिका र प्रक्रिया नै अघि नबढाई हतारमा निर्विरोध घोषणा गरिएको भन्दै नेताहरूले असन्तुष्टि जनाएका छन्।

नेता किरण पौडेलले मतदाता नामावलीसमेत सार्वजनिक नभएको र निर्वाचन प्रक्रिया विधिवत् सुरु नभएको अवस्थामा निर्विरोध घोषणा गर्नु लोकतान्त्रिक अभ्यास र निर्वाचन विधिविपरीत भएको भन्दै विरोध जनाउनुभएको छ। उहाँले उम्मेदवारी दर्ता, आकाङ्क्षीहरूको सूची सार्वजनिक तथा आवश्यक छलफलपछि मात्रै निर्वाचन प्रक्रिया टुङ्ग्याउनुपर्ने बताउनुभएको छ।

यता, पहिलो प्रदेश अधिवेशन भएकाले सर्वसम्मत रूपमा कार्यसमिति चयन गर्नुपर्ने सुझाव पनि नेताहरूले दिएका छन्। सहमति जुटाउन सबै जिल्लाका सभापति र चार जना केन्द्रीय सदस्य सम्मिलित बोर्ड गठन गरिएको छ। बोर्डले आकाङ्क्षीहरूसँग छलफल गरी नामावली टुङ्गो लगाउने सभापतिका आकाङ्क्षी श्रेष्ठले जानकारी दिनुभएको छ।

Facebook Comments Box