चार फर्मलाई जरिवानासहित कारबाही
काठमाडौँ, २३ मङ्सिर – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नियमित बजार अनुगमनको क्रममा चार उद्योग तथा फर्मलाई जरिवानासहित कारबाही गरेको छ। विभागका अनुसार मध्यपुरथिमीस्थित न्यानो नेपाली सिरक उद्योगलाई रु २० हजार जरिवाना गरिएको छ।
यस्तै, भक्तपुर सल्लाघारीमा रहेका श्री चोङ्गा गणेश हार्डवेयर र कृष्ण प्लाइउड एण्ड पेन्टलाई समानरुपमा रु १०/१० हजार जरिवाना गरिएको विभागले जनाएको छ। साथै काठमाडौँ महानगरपालिका–१६ मा रहेको इमरान रेडिमेडलाई पनि रु १० हजार जरिवाना गरिएको छ।
उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५ तथा दफा ३८ (घ) अनुसार कारबाही गरिएको विभागले स्पष्ट गरेको छ। सोमबार विभागले काठमाडौँ, भक्तपुर र ललितपुरका १५ फर्ममा अनुगमन गरेको थियो। तीमध्ये ११ फर्मलाई व्यवसायमा आवश्यक सुधार गर्न र कानुनअनुसार संचालनमा ल्याउन निर्देशन दिएको विभागद्वारा प्रकाशित विवरणमा उल्लेख छ।

