डीडीसीको तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी) मा १२ करोड १३ लाख रुपैयाँभन्दा बढी गैरकानुनी लाभ लिई संस्थानलाई आर्थिक हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनीहरूलाई काठमाडौं, कास्की, सर्लाही र चितवनका विभिन्न स्थानबाट पक्राउ गरेको हो।
ब्युरोका अनुसार तत्कालीन महाप्रबन्धक, उच्च तहका अधिकारी तथा चिस्यान केन्द्रका प्रमुख र कर्मचारीहरूले पूर्वयोजना र आपसी मिलेमतोमा संस्थानलाई १२ करोड १३ लाख ४३ हजार पाँच सय ३० रुपैयाँ हानि पुर्याई गैरकानुनी लाभ लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
पक्राउ पर्नेमा तत्कालीन महाप्रबन्धक तथा हाल प्रशासन तथा व्यवस्थापन विभाग प्रमुखका रूपमा कार्यरत सञ्जीव झा, तत्कालीन सिम्ले चिस्यान केन्द्रका प्रमुख विजयकुमार यादव, भक्तपुर चिस्यान केन्द्रका तत्कालीन प्रमुख मनहरी शर्मा र चनौली चिस्यान केन्द्रका तत्कालीन प्रमुख रामकेवल राय रहेका छन्।
त्यस्तै, संस्थानका कर्मचारी जितेन्द्रकुमार यादव, नवीन राय यादव, शिवनन्दन राय र विखबहादुर भण्डारी पनि पक्राउ परेका छन्। उनीहरूमाथि आपराधिक विश्वासघात र संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ। काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर नियन्त्रणमा लिइएका उनीहरूमाथि थप अनुसन्धान जारी रहेको ब्युरोले जनाएको छ।

