न्यायको जीत भएको कार्यकारी निर्देशक शाक्यको प्रतिक्रिया
काठमाडौँ, २३ मङ्सिर – सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र शाक्यलाई पुनःबहाली गर्ने आदेश दिएपछि शाक्यले न्यायको जीत भएको प्रतिक्रिया दिनुभएको छ। रासससँग कुरा गर्दै उहाँले सरकारको निर्णयबाट आफू आहत भएको समयमा न्यायालयले दिएको आदेशले राहत मिलेको बताउनुभयो।
“न्यायलयको निर्णयले राहत महसुस भएको छ,” शाक्यले भन्नुभयो। उहाँले आफ्नो योग्यता र क्षमताअनुसार देश, जनता र प्राधिकरणको हितमा काम गर्ने पूर्वप्रतिबद्धता दोहोर्याउनुभयो। न्यायाधीश नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलाशले सोमबार शाक्यका पक्षमा परमादेश जारी गरेको हो।
सरकारले असोज ५ गते शाक्यलाई कार्यकारी निर्देशकबाट जल तथा ऊर्जा आयोगमा सरुवा गरी मनोज सिलवाललाई नियुक्त गरेको थियो। सो निर्णयविरुद्ध शाक्यले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो।

