विश्वकपको पहिलो खेलमै स्पेन गोलरहित बराबरीमा रोकियो

काठमाडौं, २ असार – सन् २०१० को विश्वकप विजेता स्पेनले क्यानडा, अमेरिका र मेक्सिकोमा जारी फिफा विश्वकपको पहिलो खेलमा अपेक्षित प्रदर्शन गर्न नसक्दा गोलरहित बराबरी खेलेको छ। ग्रुप ‘एच’ अन्तर्गत सोमबार राति सम्पन्न खेलमा नवप्रवेशी टोली क्याबो भर्डेले बलियो प्रतिद्वन्द्वी स्पेनलाई ०–० को बराबरीमा रोक्दै महत्वपूर्ण अंक बटुल्यो।

खेलभर दबाब बनाएको स्पेनले दोस्रो हाफमा युवा स्टार लमिन यमाललाई मैदानमा उतारे पनि गोलको खाता खोल्न सकेन। स्पेनले खेलमा ७४ प्रतिशत बल आफ्नो नियन्त्रणमा राख्दै २३ वटा प्रहार गरेको थियो, जसमध्ये आठ प्रहार लक्ष्यमा थिए। यद्यपि उत्कृष्ट अवसरहरू सदुपयोग गर्न नसक्दा टोली गोलविहीन रह्यो।

यता, २६ प्रतिशत बल पोसेसनमा सीमित रहेको क्याबो भर्डेले ६ वटा प्रहार गर्दा एउटा मात्र लक्ष्यमा राख्न सफल भएको थियो। रक्षात्मक रूपमा उत्कृष्ट प्रदर्शन गरेको क्याबो भर्डेले स्पेनको आक्रमणलाई निष्प्रभावी बनायो। स्पेनले खेलमा ११ वटा कर्नर अवसर पाएको भए पनि त्यसलाई गोलमा परिणत गर्न सकेन। यो नतिजासँगै ग्रुप ‘एच’ मा स्पेन र क्याबो भर्डेले समान एक–एक अंक जोड्दै तालिकाको पहिलो र दोस्रो स्थानमा रहेका छन्।

Facebook Comments Box