चोयाको नाङ्लो बुनेर आत्मनिर्भर जीवन

सुनसरी, २२ कात्तिक – इटहरी उपमहानगरपालिका–३ सुनौलो बस्तीका बसन्त राई बाँसको चोयाबाट नाङ्लो बुनेर आत्मनिर्भर जीवनयापन गर्दै आउनुभएको छ। पुख्र्यौली सीपलाई व्यवसायिक रूपमा अँगाल्दै आउनुभएका राईले करिब दुई दशकदेखि नाङ्लो उत्पादन र बिक्रीमार्फत जीविकोपार्जन गर्दै आउनुभएको बताउनुभयो।

उहाँका अनुसार घरको दैनिक खर्च, छोराछोरीको पढाइ र पारिवारिक आवश्यकताका सबै खर्च यही पेशाबाट पूरा हुने गरेका छन्। “यो हाम्रो पुर्खाबाट चलेको पेशा हो। समय र मिहिनेत दिन सकियो भने आम्दानी राम्रै हुन्छ,” उहाँले भन्नुभयो। उहाँका अनुसार वर्षेनी करिब सातदेखि आठ लाख रुपैयाँ बराबरको नाङ्लो बिक्री हुने गर्दछ।

नाङ्लो बनाउनका लागि आवश्यक बाँस तालतलैया र खोर्सानेघाट क्षेत्रबाट ल्याइन्छ। एक बाँसको मूल्य रु २०० देखि ३०० पर्छ र त्यसबाट १० देखि १२ वटा नाङ्लो बनाउन सकिन्छ। उहाँ हप्तामा करिब १५० भन्दा बढी नाङ्लो उत्पादन गर्नुहुन्छ। बनेका नाङ्लो व्यापारीहरू हप्तैपिच्छे घरमै आएर खरिद गरेर लैजाने गर्छन्।

राईका अनुसार इटहरी, धरान, विराटनगर, भोजपुर र पथरीलगायत क्षेत्रमा उहाँका नाङ्लो बिक्री हुने गर्छन्। एक नाङ्लोको मूल्य रु १३० देखि २५० सम्म पर्छ। दसैँ, तिहार, छठ लगायतका चाडपर्वमा यसको माग सामान्य समयभन्दा बढी हुने गरेको उहाँको अनुभव छ।

सुनौलो बस्तीमा राईसहित करिब १५ घरधुरीले व्यावसायिक रूपमा नाङ्लो बुनेर जीविकोपार्जन गरिरहेका छन्। यसले घरमै बस्दै रोजगारको अवसर र परम्परागत सीप जोगाउने मार्ग दुवै प्रदान गरेको छ। राईका अनुसार घरमै बसेर पुख्र्यौली सीप प्रयोग गरी कमाउनु अर्काकोमा मजदुरी गर्नुभन्दा फाइदाजनक छ। “नाङ्लो बुनेरै मैले सानो घर बनाउन सकें, छोराछोरीको पढाइ पनि यही आम्दानीले पुगेको छ,” उहाँले सुनाउनुभयो।

ग्राहकको मागअनुसार विभिन्न साइज र डिजाइनका नाङ्लो उत्पादन गर्न सकिने उहाँको भनाइ छ। बजारमा माग बढ्दो भए पनि मूल्य स्थिर रहेकाले त्यसमा पुनःसमायोजन आवश्यक रहेको उहाँको सुझाव छ। उहाँले यस परम्परागत पेशालाई थप व्यवसायिक रूप दिनका लागि स्थानीय सरकारको सहयोग र प्रोत्साहन आवश्यक रहेको बताउनुभयो।

Facebook Comments Box