मतदाता नामावली संकलन उत्साहजनक : निर्वाचन आयोग
काठमाडौँ, २२ कात्तिक – आगामी प्रतिनिधिसभा निर्वाचनका लागि देशभर मतदाता नामावली संकलन कार्य उत्साहजनक रूपमा अघि बढिरहेको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पछिल्लो समय नागरिकहरू सक्रिय रूपमा नामावली दर्ता गराउँदै छन् । आयोगले यही कात्तिक ३० गतेसम्म नाम संकलनको म्याद तोकेको छ ।
आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुने तय भएको छ । सो निर्वाचनमा फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने र नागरिकताको प्रमाणपत्र प्राप्त गरेका नेपाली नागरिक मात्र मतदान गर्न योग्य हुने आयोगले स्पष्ट पारेको छ । यसअघि नाम नदिएका योग्य नागरिकहरूलाई यही कात्तिक ३० भित्र आफ्नो नाम दर्ता गराउन आयोगले पुनः आग्रह गरेको छ ।
मतदाता नामावली दर्तामा बढ्दो सहभागिताका कारण आयोगको सर्भरमा अत्यधिक चाप पर्न गई सेवाग्राहीहरूलाई सेवा लिन असहज हुने अवस्था सिर्जना भएको पनि आयोगले जनाएको छ । प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएपछि भने विगतझैं १६ वर्ष उमेर पूरा गरी नागरिकताको प्रमाणपत्र प्राप्त गरेका नेपाली नागरिकले मतदाता नामावलीमा नाम दर्ता गर्न पाउने व्यवस्था यथावत रहने आयोगले जानकारी दिएको छ ।

