खोटाङमा अविरल वर्षाले ७० प्रतिशत धानबाली नष्ट
खोटाङ, २२ कात्तिक – यही कात्तिक १५ गतेदेखि चार दिनसम्म लगातार परेको अविरल वर्षाका कारण खोटाङमा करिब ७० प्रतिशत धानबालीमा क्षति पुगेको छ। कृषि ज्ञान केन्द्र खोटाङका अनुसार जिल्लाका दशवटै स्थानीय तहमा रोपिएको नौ हजार ९८८ दशमलव ०३ हेक्टर धानबालीमध्ये करिब छ हजार ९९१ दशमलव ६ हेक्टर बालीमा वर्षाले क्षति पु¥याएको हो। तीमध्ये १५ प्रतिशत काटेर थन्क्याउन ढालेको, ४५ प्रतिशत पाकेर पहेँलो भएको र बाँकी १० प्रतिशत हरियो अवस्थाको बालीमा क्षति पुगेको केन्द्रका प्रमुख विशाल मोदीले जानकारी दिनुभयो।
वर्षा रोकिएपछि किसानहरू क्षतिग्रस्त बाली थन्क्याउन खेतमा जुटिरहेका छन्। थन्काउने बेलामा परेको लगातार वर्षाले धेरै धानबाली खेतमै कुहिने अवस्था आएकाले किसानहरू चिन्तित बनेका छन्। बाँकी बाली पनि बाँदरलगायतका वन्यजन्तुबाट जोगाउन किसानहरू दिनरात खटिन थालेका छन्।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा मात्रै करिब ४१ दशमलव ६३ हेक्टरमा लगाइएको धान नष्ट भएको कृषि ज्ञान केन्द्रले जनाएको छ। सो नगरपालिकामा करिब तीन हजार ५०० हेक्टर खेतमा धानखेती हुने र वार्षिक करिब आठ हजार ९९५ मेट्रिक टन उत्पादन हुने गरेको छ।
खार्मीका युवा कृषक हेमन्त राईका अनुसार अविरल वर्षाका कारण काटेर थन्क्याउन राखिएको धान अंकुरित भइसकेको छ। “धान, कोदो, फापर र फलफूल सबैमा क्षति पुगेको छ। पाकेर थन्क्याउन लागेको बाली वर्षाले नष्ट गरेपछि भोकमरीको डर छ, सरकारले राहतको व्यवस्था गर्नुपर्छ,” उहाँले भन्नुभयो।
हलेसी तुवाचुङ नगरपालिकामा पनि ठूलो क्षति भएको प्रवक्ता कमल गिरीले बताउनुभयो। सो नगरपालिकाका १२० हेक्टर खेतमा हुने धानखेतीबाट वार्षिक ३०८ दशमलव ४ मेट्रिक टन उत्पादन हुने गर्छ।
जन्तेढुङ्गा गाउँपालिकामा करिब ४० प्रतिशत धानबाली नष्ट भएको उपप्रमुख खेमबहादुर खड्काले जानकारी दिनुभयो। सात वडा रहेको यस गाउँपालिकामा २४० दशमलव ९६ हेक्टरमा खेती हुँदै आएको छ, जसबाट करिब ६१९ दशमलव २७ मेट्रिक टन उत्पादन हुने गरेको छ।
बराहापोखरी गाउँपालिकामा पनि करिब ६० प्रतिशत धान नष्ट भएको गाउँपालिका प्रमुख शालिकराम बञ्जराले बताउनुभयो। सो पालिकामा ६५७ हेक्टरमा धानखेती हुने र वार्षिक एक हजार ६८८ दशमलव ४९ मेट्रिक टन उत्पादन हुने गरेको छ।
त्यस्तै, खोटेहाङ गाउँपालिकामा करिब ४० प्रतिशत धान क्षति पुगेको गाउँपालिका प्रमुख उदिमबहादुर राई ‘मुक्ति’ले जानकारी दिनुभयो। नौ वडा रहेको यस गाउँपालिकामा करिब एक हजार २०० हेक्टरमा धानखेती हुने र तीन हजार ८४ मेट्रिक टन उत्पादन हुने गरेको छ।
दिप्रुङ चुइचुम्मा, साकेला, रावाबेँसी, केपिलासगढी र ऐसेलुखर्क गाउँपालिकामा पनि वर्षाले धानखेतीमा व्यापक असर पारेको कृषि ज्ञान केन्द्रले जनाएको छ। ती पालिकामा संयुक्त रूपमा करिब नौ हजार हेक्टरमा धानखेती हुने र करिब २६ हजार मेट्रिक टन उत्पादन हुने अनुमान गरिएको थियो। यस वर्ष समयमै वर्षा भएकाले उत्पादन वृद्धि हुने अपेक्षा गरिएको भए पनि अविरल वर्षाले त्यसमा ठूलो धक्का पुगेको कृषि ज्ञान केन्द्र खोटाङले जनाएको छ।

