वनमन्त्री शाहीको नर्वे भ्रमण : संरक्षण र सहकार्यमा केन्द्रित भेटघाट

काठमाडौँ, १५ साउन ( वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी नर्वे भ्रमणको क्रममा विभिन्न उच्चस्तरीय कार्यक्रमहरूमा सक्रिय रहनुभएको छ। चारदिने भ्रमणका क्रममा उहाँले वातावरण संरक्षण, वन्यजन्तु व्यवस्थापन तथा शैक्षिक सहकार्यका विषयमा महत्वपूर्ण छलफल र भेटघाट गर्नुभएको छ।

मन्त्री शाहीको टोलीमा रहेका राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य–सचिव डा. नरेश सुवेदीका अनुसार, नर्वेको युनिभर्सिटी अफ इन्ल्यान्डका प्राध्यापक मोर्टेन ओडेनको आतिथ्यमा टोलीले ओप्पडालस्थित वाइल्ड रेनडियर सेन्टर तथा आर्कटिक फक्स प्रजनन केन्द्रको अवलोकन गरेको थियो। उक्त अवसरमा विज्ञहरूले नर्वेमा सफल मानिएको ‘आर्कटिक फक्स पुनःस्थापना कार्यक्रम’ र ‘रेनडियर पारिस्थितिकीय पद्धति’बारे विस्तृत जानकारी दिएका थिए।

मन्त्री शाही, जो कोषका अध्यक्षसमेत हुनुहुन्छ,ले पाँचवर्षे नोरपार्ट परियोजनाको समिक्षा पनि गर्नुभएको थियो। काठमाडौँ विश्वविद्यालय तथा राष्ट्रिय प्रकृति संरक्षण कोषसँग सहकार्यमा सञ्चालित यस परियोजनाले नेपाली र नर्वेजियन विद्यार्थीहरूलाई अध्ययन तथा अनुसन्धानमा जोड्दै आएको छ। हाल तीन जना नेपाली विद्यार्थी उक्त परियोजनाअन्तर्गत विद्यावारिधी अध्ययनरत छन्।

भ्रमणका क्रममा मन्त्री शाहीले नर्वेको विदेश मन्त्रालय तथा जलवायु तथा वातावरण मन्त्रालयका उच्च अधिकारीहरूसँग भेटवार्ता गर्नुभएको थियो। यी भेटमा भविष्यमा हुने सहकार्य, क्षमता विकास तथा नेपालमा संरक्षण परियोजनाहरूको वित्तीय सहयोग विस्तारबारे कुराकानी भएको थियो।

नर्वेजियन विकास सहयोग संस्था नोराडसँग दीर्घकालीन संरक्षण पहलबारे पनि गहन छलफल भएको सदस्य–सचिव सुवेदीले जानकारी दिनुभयो। भ्रमणले नेपाल–नर्वेबीचको सम्बन्धलाई संरक्षण र अनुसन्धानको क्षेत्रमा थप मजबुत बनाउने अपेक्षा गरिएको छ। मन्त्री शाही शुक्रबार नर्वेतर्फ प्रस्थान गर्नुभएको थियो भने आज स्वदेश फर्कने कार्यक्रम रहेको छ।

Facebook Comments Box