हेटौंडा–भैंसे हुँदै काठमाडौं जाने सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–१ स्थित त्रिखण्डेश्वर महादेव मन्दिरमा लाग्ने हरिबोधनी एकादशी मेलाका कारण हेटौंडा–भैंसे हुँदै काठमाडौं जाने सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न प्रशासनले आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले शुक्रबार मेला लाग्ने भएकाले हेटौंडा–भैंसे हुँदै काठमाडौं जाने सवारीसाधनलाई कान्तिलोकपथअन्तर्गत हेटौंडा–ठिंगन–सातदोबाटो मार्ग प्रयोग गर्न अनुरोध गरेको हो ।

प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार मन्दिर क्षेत्रमा भक्तजनको भीडभाड हुने र सडक साँघुरो तथा भिरालो भएकाले सवारी आवागमन प्रभावित हुन सक्नेछ । मन्दिर आसपासको दुई किलोमिटर सडकखण्ड एकतर्फी मात्रै सञ्चालन गरिने भएकाले घण्टौँसम्म जाम हुन सक्ने प्रशासनले जनाएको छ ।

मेलाका कारण हेटौंडाको बुद्धचोकदेखि भैंसे हुँदै पालुङ–नौबिसे खण्डको त्रिभुवन राजपथ तथा भैंसेदेखि भीमफेदी–कुलेखानी–फर्पिङ–बल्खु जोड्ने छोटो मार्ग प्रभावित हुनेछन् । यी मार्ग हुँदै दैनिक सयौँ साना तथा ठूला सवारीसाधन काठमाडौं आवतजावत गर्दै आएका छन् । मधेस प्रदेशका सर्लाहीदेखि पर्सासम्मका यात्रुले पनि यही मार्ग प्रयोग गर्ने गरेका छन् । यसैबीच, कात्तिक २६ गतेयता भीमफेदी–देउराली सडकखण्डको चिसापानीगढीमा माइक्रोबस तथा बिहीबार भैंसे बजारनजिक जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भइसकेको छ ।

Facebook Comments Box