आज हरिबोधनी एकादशी, तुलसी विवाह गरी मनाइँदै
काठमाडौँ । आज कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधनी एकादशी । यसलाई प्रबोधिनी एकादशी तथा ठूली एकादशीका रूपमा पनि मनाइन्छ । आजको दिन घरआँगनमा रोपिएको तुलसीको विधिपूर्वक विवाह गरी भगवान् विष्णुको पूजा आराधना गर्ने धार्मिक परम्परा छ । तुलसीको मठलाई लिपपोत गरी फूलमाला र विभिन्न वस्त्रले सजाएर विष्णुको प्रतीकका रूपमा पिपलसँग तुलसीको विवाह गराइन्छ ।
धार्मिक मान्यताअनुसार आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन योगनिद्रामा जानुभएका भगवान् विष्णु आजकै दिन जाग्ने विश्वास छ । त्यसैले यस दिनलाई देवउठनी एकादशी पनि भनिन्छ । भगवान् विष्णु शयनमा रहनुभएको चतुर्मास अवधिमा विवाह, व्रतबन्ध, गृहप्रवेशलगायत माङ्गलिक कार्य नगरिने परम्परा छ । हरिबोधनी एकादशीसँगै चतुर्मास समाप्त हुने भएकाले आजदेखि विवाहलगायत शुभकार्य पुनः सुरु हुने धार्मिक विश्वास रहेको छ ।
यस दिन व्रतालुले उपवास बसी फलाहारका रूपमा पिँडालु र सक्खरखण्ड खाने चलन छ । साथै, दिवङ्गत पितृको सम्झनामा नदी तथा खोलामा फूल तारेर व्रतको पुण्य पितृलाई समर्पण गर्ने परम्परा पनि रहेको छ । धार्मिक शास्त्रअनुसार हरिबोधनी एकादशीको व्रत, पूजा, जप, तप तथा दान गर्नाले पुण्य प्राप्त हुने र पाप नाश हुने विश्वास गरिन्छ । यस दिन व्रत बस्नाले एक हजार अश्वमेध यज्ञ र सय राजसूय यज्ञ गरेबराबरको फल प्राप्त हुने धार्मिक मान्यता छ ।

