विवाहपञ्चमी महोत्सवको तयारी तीव्र, व्यवस्थापनका लागि विभिन्न समिति गठन

जनकपुर । आगामी मङ्सिर २३ गतेदेखि जनकपुरधाममा सुरु हुने साताव्यापी श्रीराम जानकी विवाहपञ्चमी महामहोत्सवको तयारी तीव्र पारिएको छ । महोत्सवलाई भव्य, व्यवस्थित र सुरक्षित बनाउन जानकी मन्दिरले विभिन्न विषयगत समिति गठन गरेको छ । शान्ति सुरक्षा, प्रचारप्रसार, बजार व्यवस्थापन, रङ्गभूमि मैदान तथा प्रवेशद्वार व्यवस्थापन, पण्डाल निर्माण, ट्राफिक, खानेपानी र विद्युत् व्यवस्थापनका लागि छुट्टाछुट्टै समिति गठन गरिएको हो ।

महोत्सवको तयारीबारे बिहीबार मन्दिर परिसरमा आयोजित सर्वपक्षीय बैठकले समिति गठन गरी जिम्मेवारी बाँडफाँट गरेको छ । जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवको अगुवाइ तथा उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवको संयोजनमा भएको बैठकमा महोत्सवलाई विगतका वर्षभन्दा थप व्यवस्थित र भव्य बनाउने विषयमा छलफल भएको थियो ।

उत्तराधिकारी महन्थ रामरोशन दासले महोत्सव सफल बनाउन आवश्यक तयारी अघि बढाइएको जानकारी दिँदै स्थानीय प्रशासन, सुरक्षा निकाय, स्थानीय तह तथा सरोकारवाला निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताउनुभयो । विवाहपञ्चमीमा सहभागी हुन नेपालका विभिन्न जिल्ला तथा भारतको अयोध्यासहितका स्थानबाट हजारौँ साधुसन्त र श्रद्धालु जनकपुरधाम आउने अपेक्षा गरिएको छ ।

उनीहरूको स्वागत, आवास, सुरक्षा तथा आवागमनलाई सहज बनाउने विषयलाई तयारीमा प्राथमिकता दिइएको छ । बैठकमा धार्मिक सङ्घसंस्था, नागरिक समाज, जनप्रतिनिधि, सुरक्षा निकाय, सञ्चार क्षेत्र तथा विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

Facebook Comments Box