पाल्पामा विद्युतीय गाडी दुर्घटना, तीन जनाको मृत्यु
पाल्पा, १२ कात्तिक – पाल्पाको रैनादेवी छहरा गाउँपालिका–४ पिपल भञ्ज्याङमा आज दिउँसो विद्युतीय गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
अमलावासबाट मेहलढापतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१–००१ ज ००९१ नम्बरको गाडी सडकबाट खोल्सामा खस्दा चालकसहित तीन जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी कमल प्रधानले जानकारी दिनुभयो।
मृत्यु हुनेहरूमा चालक छहरा अमलावासका ३४ वर्षीय कमल रायमाझी, रैनादेवी छहरा–१ सिद्धेश्वरका ३७ वर्षीय मुक्तबहादुर बुढाथोकी र छहरा–४ मेहलढापका ४१ वर्षीय रामबहादुर गाहा रहेका छन्।
गम्भीर घाइते अवस्थाका ती तीनै जनालाई तत्काल जिल्ला अस्पताल पाल्पा लगिएको भए पनि चिकित्सकहरूले मृत घोषणा गरेका हुन्। दुर्घटनाको समयमा गाडीमा अन्य कोही सवार नभएको प्रहरीले जनाएको छ। सडकबाट गाडी खोल्सामा खसेको र दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।

