आजको मौसम पूर्वानुमान : कोशी, गण्डकी र कर्णालीमा हल्का वर्षाको सम्भावना
काठमाडौँ, १० चैत – हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग ले जनाएको छ। हाल कोशी प्रदेश, मधेस र लुम्बिनी प्रदेशका साथै देशका पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने अन्य स्थानमा आंशिक बदली रहेको छ। विभागका अनुसार कोशी, गण्डकी प्रदेश र कर्णाली प्रदेश का एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात भइरहेको छ।
आज दिउँसो कोशी प्रदेशसहित पहाडी र हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी, बागमती प्रदेश, गण्डकी र कर्णालीका पहाडी तथा हिमाली भेगका केही स्थानमा तथा अन्य प्रदेशका यस्ता भूभागका एक–दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। साथै कोशी प्रदेशको तराई क्षेत्रमा पनि एक–दुई स्थानमा वर्षा हुन सक्ने जनाइएको छ।
आज राति हिमाली क्षेत्रमा सामान्य बदली, पहाडी क्षेत्रमा आंशिक बदली तथा तराई क्षेत्रमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान छ। कोशी, गण्डकी र कर्णालीका पहाडी तथा हिमाली भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना कायमै रहने विभागले जनाएको छ।

