प्रधानमन्त्रीको आह्वानमा सरकार, राजनीतिक दल र ‘जेनजी’ समूहबीच त्रिपक्षीय छलफल सुरु

काठमाडौँ, १२ कात्तिक — प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सरकार, राजनीतिक दल र ‘जेनजी’ समूहबीचको पहिलो त्रिपक्षीय छलफल आज बालुवाटारमा सुरु भएको छ।

प्रधानमन्त्री निवासमा जारी छलफलमा राजनीतिक दलका १६ जना र ‘जेनजी’ समूहका १४ जना प्रतिनिधि सहभागी छन्। निर्वाचनको वातावरण निर्माण तथा राजनीतिक समझदारी जुटाउने उद्देश्यले पहिलोपटक यस्तो स्वरूपको औपचारिक संवाद आयोजना गरिएको हो।

सरकारका तर्फबाट प्रधानमन्त्री कार्कीका साथै गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हा र शिक्षामन्त्री महावीर पुन सहभागी छन्।

‘जेनजी’ समूहका तर्फबाट इण्डिजिनस जेनजी कलेक्टिभ, हाउ टु देश विकासजेनजी मुभमेन्ट एलाइन्सका प्रतिनिधिहरू सहभागी छन्। उनीहरूमध्ये मोनिका निरौला, रक्षा बम, पुरुषोत्तम यादव, सामना लावती, खेमराज साउद, उपअर्जुन चाम्लिङ, भोजविक्रम थापा, मिराज ढुङ्गाना, विवेक दाहाल, जेम्स कार्की, रेहनराज डङ्गोल, अमित खनाल र राजन रानामगर रहेका छन्।

राजनीतिक दलका तर्फबाट नेपाली कांग्रेसका प्रवक्ता प्रकाशरण महत, नेकपा (एमाले) का केन्द्रीय सदस्य महेश बर्तौला र युवा सङ्घका अध्यक्ष क्षितिज थेवे, नेकपा (माओवादी केन्द्र) का नेताहरू नारायणकाजी श्रेष्ठ, वर्षामान पुन र माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्ले र केन्द्रीय सदस्य निशा डाँगी, नेकपा (एकीकृत समाजवादी) का प्रकाश ज्वाला र राजेन्द्र पाण्डे तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री राजेन्द्र गुरुङ र प्रवक्ता मोहन श्रेष्ठ सहभागी छन्।

बैठकको कार्यसूचीमा आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनको तयारी, राजनीतिक सहमति र समग्र वातावरण निर्माणका विषयहरू प्रमुख रूपमा समावेश छन्।

निर्वाचन सफल बनाउन सरकारले निरन्तर छलफल र संवादको प्रक्रिया अघि बढाइरहेको छ। यसअघि कात्तिक ४ गते प्रधानमन्त्री कार्कीको आह्वानमा सरकार र राजनीतिक दलबीच सर्वदलीय छलफल भएको थियो। त्यसपछि राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानमन्त्री कार्की र ‘जेनजी’ समूहबीच पनि पृथक संवाद सम्पन्न भइसकेको छ।

Facebook Comments Box