बाढीपहिरोका कारण विभिन्न राजमार्ग तथा सडकखण्ड प्रभावित
काठमाडौँ । बाढी तथा पहिरोका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीको अद्यावधिक तथ्याङ्कअनुसार रसुवामा असोज १० गते आएको बाढीका कारण मुख्य राजमार्गका सम्पूर्ण सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छन्। मनाङमा असोज १८ गते आएको बाढीका कारण बेंसीसहर हुँदै खाङसार जाने सडकखण्ड एकतर्फी रूपमा सञ्चालन भइरहेको छ।
म्याग्दीको बेनी–जोमसोम सडकखण्डअन्तर्गत रघुगङ्गा गाउँपालिका–२ बैसरी र अन्नपूर्ण गाउँपालिका–३ सुकेबगरमा पहिरोका कारण यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। नवलपरासीको कालीगण्डकी करिडोरअन्तर्गत बुलिङटार गाउँपालिका–६ घुमाउरीघाटमा असोज १० गते साँझ ७ः३० बजे पहिरो गएपछि सडक एकतर्फी रूपमा सञ्चालन भइरहेको छ।
त्यसैगरी, बौदीकाली गाउँपालिका–३ जन्ती पहिरोमा असोज १४ गते दिउँसो ४ः४५ बजे पहिरो गएपछि सडक एकतर्फी रूपमा सञ्चालनमा रहे पनि ठूला सवारीसाधन आवतजावत गर्न नसक्ने अवस्था रहेको प्रहरीले जनाएको छ।

