अनलाइन टिभीलाई नयाँ मूलधारको मिडियाका रूपमा स्थापित गर्नुपर्छ : सञ्चारमन्त्री खरेल
काठमाडौँ, १२ कात्तिक – सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनलाइन टेलिभिजनलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यसहित ती सञ्चारमाध्यमका पत्रकारहरूसँग आज मन्त्रालयमा अन्तरक्रिया गरेको छ। मन्त्रालयले पहिलोपटक अनलाइन टिभीका प्रतिनिधिहरूसँग छलफल गर्दै राय–सुझाव लिएको हो।
कार्यक्रममा सहभागी पत्रकारहरूले चौथो पुस्ताको पत्रकारितालाई सुदृढ र सशक्त बनाउनुपर्ने, पेसागत व्यावसायिकता, विश्वसनीयता र जिम्मेवारिता कायम गर्नुपर्नेमा जोड दिए।
उनीहरूले अनलाइन टिभीलाई मूलधारको मिडियाका रूपमा मान्यता दिई राज्यतर्फबाट लोककल्याणकारी विज्ञापनलगायत अन्य सहुलियतका व्यवस्था मिलाउन आग्रह गरे।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टिभीलाई “नयाँ मूलधारको मिडिया” का रूपमा स्थापित गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “अब सूचनाको मुख्य माध्यम अनलाइन मिडिया नै बन्दैछ। त्यसैले यसलाई जिम्मेवार, व्यवस्थित र सशक्त बनाउन सरकार गम्भीर छ।”
मन्त्री खरेलका अनुसार अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण प्रक्रिया सूचना विभागमार्फत हुने गरी व्यवस्था मिलाइएको छ। मन्त्रिपरिषद् बैठकबाट सोसम्बन्धी नियमावली पारित भइसकेको र केही दिनमै राजपत्रमा प्रकाशित हुने जानकारी दिनुभयो।
उहाँले नयाँ मूलधारका मिडियाले आगामी फागुन २१ गते हुने निर्वाचनमा सूचना सम्प्रेषणमार्फत सकारात्मक भूमिका खेल्ने अपेक्षा व्यक्त गर्नुभयो। सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री खरेलले सामाजिक सञ्जाल बन्द नहुने स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो,
“सामाजिक सञ्जाल र नयाँ मूलधारका मिडिया कहिल्यै बन्द हुन सक्दैनन् र बन्द गरिँदैन। सरकारको धारणा स्पष्ट छ — कुनै पनि मिडिया बन्द हुनुहुँदैन।”
उहाँले सामाजिक सञ्जाललाई व्यवस्थित र जिम्मेवार बनाउनुपर्नेमा जोड दिँदै पत्रकारहरूलाई आवश्यक तालिमका लागि मन्त्रालयले पहल गर्ने बताउनुभयो।
अन्तरक्रियामा अनलाइन टिभी सङ्घका अध्यक्ष जीवन भण्डारीले अनलाइन टिभीलाई लोककल्याणकारी विज्ञापनका लागि योग्य ठहर गर्न आग्रह गर्नुभयो।
लोकसञ्चारकर्मी सङ्घका अध्यक्ष चन्द्रमणि गौतमले डिजिटल सञ्चारको नियमन र प्रवर्द्धन दुवैमा प्रभावकारी काम गर्नुपर्नेमा जोड दिनुभयो।
डिजिटल मिडिया अलाइन्सकी उपाध्यक्ष मोनिका सिंहले अनलाइन मिडियालाई मूलधारका मिडियासरह सहुलियत र अवसर उपलब्ध गराउन माग गर्नुभयो।
कार्यक्रममा विभिन्न अनलाइन टिभीका पत्रकार, अनलाइन टिभी पत्रकार सङ्घ र राष्ट्रिय लोकसञ्चारकर्मी सङ्घका प्रतिनिधिहरू सहभागी थिए।

