महिनादिनदेखि अवरुद्ध गल्छी–वेत्रावती सडकमा यातायात सञ्चालन
काठमाडौँ । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण करिब महिनादेखि अवरुद्ध गल्छी–वेत्रावती सडकखण्डमा पुनः यातायात सञ्चालनमा आएको छ। ट्र्याक खोल्ने काम सम्पन्न भएपछि शुक्रबारदेखि उक्त सडकखण्डमा यातायात सञ्चालन गरिएको हो।
गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाका प्रमुख इन्जिनियर कृष्णनाथ ओझाका अनुसार सडक सञ्चालनमा आएसँगै सडक सञ्जालबाट विच्छेद भएको रसुवा जिल्ला पुनः जोडिएको छ। यातायात सञ्चालन भएपछि स्थानीय बासिन्दा तथा यात्रुलाई आवतजावतमा सहज भएको उहाँले बताउनुभयो।
चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढी जोड्ने सडक दसैँको मुखमा सञ्चालनमा आएपछि स्थानीय बासिन्दा तथा व्यापारीलाई राहत पुगेको छ। बाढीका कारण सडक संरचना र पुलमा क्षति पुगेपछि रसुवाको आवतजावत तथा व्यापारिक गतिविधि प्रभावित हुँदै आएको थियो।
गत भदौ १० गते चीनतर्फबाट आएको भीषण बाढी र पहिरोले गल्छी–रसुवागढी सडकखण्डको करिब ५५ किलोमिटर क्षेत्रमा क्षति पुर्याएको थियो। बाढीले थुप्रै पुल बगाएपछि रसुवा सडक सञ्जालबाट पूर्ण रूपमा विच्छेद भएको थियो। इन्जिनियर ओझाका अनुसार वेत्रावती भिर र उत्तरगया पब्लिक स्कुलनजिकको कडा चट्टान छिचोल्दै नयाँ ट्र्याक निर्माण गरिएको हो। सडक खुलाउन प्राविधिक टोली र सुरक्षा निकायले चौबिसै घण्टा काम गरेका थिए।
ट्र्याक सञ्चालनमा आए पनि सडकको ग्रेड मिलाउने र ग्राभेल हाल्ने काम भने बाँकी रहेको छ। साथै, बाढीले बगाएका पुलको स्थानमा बेलिब्रिज जडानको कामसमेत अघि बढाइएको छ। नुवाकोटतर्फ बेलिब्रिज निर्माणका लागि जग तयार भइसकेको छ भने नेपाली सेनाको सहयोगमा जडानको तयारी भइरहेको छ। रसुवातर्फ पनि बेलिब्रिजको जग निर्माण अन्तिम चरणमा पुगेको र एक साताभित्र जडान सम्पन्न गर्ने लक्ष्यसहित काम अघि बढाइएको इन्जिनियर ओझाले जानकारी दिनुभयो।

