लेदुवा खोलाको पुल सात वर्षदेखि अलपत्र
सुनसरी, ८ असोज – धरान उपमहानगरपालिका–५ स्थित देवी गाउँमा निर्माण सुरु भएको लेदुवा खोलाको पुल सात वर्ष बितिसक्दा पनि अधुरै छ। सम्झौताअनुसार चार वर्षअघि सम्पन्न हुनुपर्ने पुल हालसम्म ५० प्रतिशत मात्रै काम भएको अवस्थामा अलपत्र परेको छ।
विसं २०७७ साउन ४ गते कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र वर्ल्ड ट्रेड कन्स्ट्रक्सन कम्पनीबीच रु १ करोड २१ लाख ८६ हजार ८१३ को लागतमा सम्झौता भएको थियो। सम्झौताअनुसार विसं २०७८ साउन ७ गतेभित्र निर्माण सकिनुपर्नेमा अहिलेसम्म दुवैतर्फ पिलर मात्र बनेका छन्, बाँकी संरचना झाडीले ढाकिएका छन्।
पुल नबन्दा धरान–५ र ४ का बासिन्दाले धरान बजार आवतजावतमा समस्या भोगिरहेका छन्। बर्खामा खोलामा बाढी आउँदा स्थानीयले ज्यानको जोखिम मोलेर खोला पार गर्नुपर्ने अवस्था छ। “बिरामीलाई अस्पताल पु¥याउन कठिन हुन्छ, बाँसको अस्थायी पुल पनि बाढीले भत्काइदिन्छ,” वडा अध्यक्ष मनप्रसाद लिम्बूले बताए।
स्थानीय नरबहादुर मगरका अनुसार बर्खामा विद्यार्थीहरू विद्यालय जान घण्टौँसम्म खोला किनारमै बस्नुपर्ने बाध्यता हुन्छ। कृषिजन्य उत्पादन बजार लैजान पनि समस्या परेको छ। धरान–५ मा कक्षा ५ सम्म मात्र पढाइ हुने भएकाले माथिल्लो कक्षाका विद्यार्थीलाई धरान बजारतिर जानुपर्ने हुन्छ। मनटार, सुमनटार, मुक्तिलाल, निशान डाँडा र तल्लो निशान डाँडाका विद्यार्थी दैनिक जोखिम मोलेर खोला पार गर्न बाध्य छन्।
पटक–पटक म्याद थप्दा पनि ठेकेदार कम्पनीले काम नगरेको स्थानीयको गुनासो छ। गत चैत १२ गतेसम्म काम सक्ने सहमति भए पनि अहिले कम्पनी सम्पर्कमै नभएको वडा अध्यक्ष लिम्बूको भनाइ छ। यस विषयमा गत चैतमा तत्कालीन प्रदेश भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले स्थलगत अनुगमन गर्दै ठेक्का रद्द गरी धरौटी जफत गर्ने प्रक्रिया सुरु भएको बताएका थिए। तर कम्पनीले अदालतबाट स्टे–अर्डर लिएपछि काम अघि बढ्न नसकेको मन्त्री राईको भनाइ छ।

