१६ दिने महालक्ष्मी व्रत समापन

काठमाडौँ । भाद्र शुक्ल अष्टमीदेखि सुरु भएको १६ दिने महालक्ष्मी व्रत गएराति चन्द्रमालाई अर्घ्य दिएर रातभर जाग्राम बसेसँगै समापन भएको छ। धनधान्यकी देवी महालक्ष्मीलाई प्रसन्न गराउन लिइने यस व्रतबाट दुःख–दारिद्र्य नाश भई सुख, शान्ति, श्रीवृद्धि र वैभव प्राप्त हुने धार्मिक विश्वास छ। विशेषगरी महिलाले यो व्रत लिने गरेका छन्।

विभिन्न धार्मिक ग्रन्थमा भगवान् शङ्करले देवी पार्वतीलाई महालक्ष्मी व्रतको विधि बताउनुभएको उल्लेख छ। यस व्रतको प्रभावले देह त्यागपछि दिव्यधाम प्राप्त हुने जनविश्वाससमेत रहेको छ। महालक्ष्मी व्रतकथामा देवराज इन्द्रले महालक्ष्मीको व्रत तथा पूजाआराधना गरी महालक्ष्म्यष्टक स्तोत्र रचना गरेको उल्लेख छ। बिहान, मध्याह्न र साँझ गरी दिनमा तीन पटक उक्त स्तोत्र पाठ गरेमा धनधान्य, सुख प्राप्त हुनुका साथै शत्रुनाश हुने विश्वास गरिन्छ।

प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीदेखि आश्विन कृष्ण अष्टमीसम्म १६ दिन, आश्विन शुक्ल पूर्णिमा र कार्तिक कृष्ण औँसी गरी तीन पटक महालक्ष्मीको विशेष पूजा आराधना गर्ने वैदिक परम्परा रहेको छ। यस्तै, आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्म मनाइने दुर्गा पक्षमा महाकाली र महासरस्वतीसँगै महालक्ष्मीको पनि विशेष पूजा तथा आराधना गर्ने परम्परा छ।

Facebook Comments Box