फ्लाई दुबई विमानमा पाइलटमाथिको आक्रमणमा इरान संलग्न भए गम्भीर प्रहार गर्ने ट्रम्पको चेतावनी

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लाई दुबईको विमानमा पाइलटमाथि भएको आक्रमणमा इरानको संलग्नता पुष्टि भए इरानविरुद्ध ‘धेरै गम्भीर प्रहार’ गरिने चेतावनी दिएका छन्। गत सेप्टेम्बर ३० मा यूएईको दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाई दुबईको विमानमा सहपाइलटले क्याप्टेन अस्मित मच्छरमाथि चक्कु प्रहार गरेका थिए। आक्रमणपछि पनि क्याप्टेन मच्छरले यात्रुहरूको सहयोगमा विमानलाई नियन्त्रणमा लिँदै साउदी अरबमा सुरक्षित अवतरण गराएका थिए।

विमानमा १७४ जना यात्रु रहेका थिए, जसमा १६६ जना इजरायली नागरिक थिए। आक्रमणमा संलग्न सहपाइलट साउदी अरबको नियन्त्रणमा छन् भने घाइते क्याप्टेन मच्छर उपचारपछि शुक्रबार यूएई फर्किएका छन्। पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले आक्रमणकारी सहपाइलटको सम्बन्ध इरानसँग हुन सक्ने दाबी गरेका छन्। उनले घटनाबारे सम्बन्धित पक्षबाट आफूलाई जानकारी प्राप्त भइरहेको बताउँदै प्रारम्भिक सूचनाका आधारमा इरानको संलग्नता हुन सक्ने संकेत गरेका हुन्।

इरान संलग्न भएको पुष्टि भए अमेरिकाले जवाफी कारबाही गर्छ कि गर्दैन भन्ने प्रश्नमा ट्रम्पले इरानविरुद्ध ‘धेरै गम्भीर प्रहार’ गरिने बताएका छन्। बीबीसी अरबी सेवाका अनुसार यात्रुहरूको बयानले सहपाइलटले विमान दुर्घटना गराउने उद्देश्यले क्याप्टेनमाथि आक्रमण गरेको संकेत गर्छ। आक्रमणपछि विमान एक मिनेटमै करिब पाँच हजार मिटर तल झरेको बताइएको छ। घाइते अवस्थामा पनि क्याप्टेन मच्छरले ककपिटको ढोका खोल्न सफल भएपछि यात्रुहरू ककपिटभित्र प्रवेश गरी आक्रमणकारीलाई नियन्त्रणमा लिएका थिए।

Facebook Comments Box