सरकार, राजनीतिक दल र ‘जेनजी’ प्रतिनिधिबीच पहिलो त्रिपक्षीय छलफल हुँदै

काठमाडौँ, ११ कात्तिक – आगामी निर्वाचनको वातावरण तयार पार्ने उद्देश्यले सरकारले पहिलोपटक राजनीतिक दल र ‘जेनजी’ आन्दोलनका प्रतिनिधिहरूसँग त्रिपक्षीय छलफल गर्ने भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार अपराह्न ४ः०० बजे बैठक बोलाइएको छ। यस बैठकमा सरकार, विभिन्न राजनीतिक दलका शीर्ष नेता तथा ‘जेनजी’ समूहका प्रतिनिधिहरू सहभागी हुनेछन्।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार निर्वाचन सफल बनाउन सबै पक्षबीच विश्वास र सहकार्यको वातावरण बनाउने उद्देश्यले संयुक्त बैठक आयोजना गरिएको हो। उहाँले भन्नुभयो, “निर्वाचनको माहोल बनाउन सरकारले राजनीतिक दल र सम्बद्ध पक्षसँग लगातार संवाद र छलफल गरिरहेको छ।”

यसअघि कात्तिक ४ गते प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा बालुवाटारमा सरकार र राजनीतिक दलबीच सर्वदलीय बैठक भएको थियो। उक्त बैठकमा सबै दलले आवश्यक वातावरण बनाएर तोकिएको समयमा निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

त्यसयता विभिन्न औपचारिक तथा अनौपचारिक संवादहरू हुँदै आएका छन्। सम्बद्ध पक्षहरूका अनुसार लामो समयपछि पुनः सक्रिय राजनीतिक संवादले निर्वाचनको सकारात्मक माहोल बनाएको छ।

मन्त्री खरेलका अनुसार सरकारले निर्वाचन आयोगसँग पनि लगातार समन्वय गरिरहेको छ। “आयोगसँगको सहकार्यमा सरकार निर्वाचनका लागि आवश्यक तयारी अघि बढाइरहेको छ,” उहाँले बताउनुभयो।

Facebook Comments Box