दस दिनमा ४० हजारभन्दा बढी पर्यटक मुस्ताङमा

मुस्ताङ, १२ कात्तिक – कात्तिकको पहिलो १० दिनमा मात्रै मुस्ताङमा ४० हजारभन्दा बढी आन्तरिक तथा विदेशी पर्यटक पुगेका छन्। जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार कात्तिक १ देखि १० गतेसम्म बेनी–जोमसोम सडकमार्ग हुँदै ३७ हजार १४६ जना आन्तरिक र तीन हजार ७३२ जना विदेशी गरी कुल ४० हजार ८७८ जना पर्यटक मुस्ताङ प्रवेश गरेका हुन्।

सो अवधिमा बस, जीप, कार, भ्यान र मोटरसाइकल गरी ११ हजार ८०८ सवारीसाधन मुस्ताङ भित्रिएका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिए। कात्तिक १० गते मात्र म्याग्दी हुँदै चार हजार ५९८ पर्यटक मुस्ताङ प्रवेश गरेका थिए। तर सोमबार रातिदेखि परेको वर्षा र हिमपातका कारण कतिपयको मुक्तिनाथ दर्शन यात्रा प्रभावित भएको छ।

मुक्तिनाथ क्षेत्र र कागबेनी–मुक्तिनाथ सडकखण्डमा बाक्लो हिमपात भएकाले यात्रु तथा तीर्थालुहरूलाई हिँडडुलमा कठिनाइ भएको मुक्तिनाथ मन्दिर विकास समितिका कर्मचारी रविन सुवेदीले बताए। उनका अनुसार स्नानकुण्ड र १०८ धारा जमेकाले धार्मिक कार्यसमेत प्रभावित भएको छ। प्रहरी तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको साउनदेखि कात्तिक १० गतेसम्म बेनी–जोमसोम सडकमार्ग हुँदै एक लाख ५९ हजार ४६७ जना पर्यटक मुस्ताङ भित्रिएका छन्।

Facebook Comments Box