निर्वाचन आयोगको आह्वान : प्रतिनिधि सभा निर्वाचनको पर्यवेक्षणका लागि आवेदन दिन १५ दिनको समय

काठमाडौँ, ११ कात्तिक – निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्न इच्छुक राष्ट्रिय संस्थाहरूसँग आवेदन दिन आह्वान गरेको छ।

मंगलबार जारी सूचनामार्फत आयोगले पर्यवेक्षण अनुमतिका लागि आवश्यक कागजातसहितको निवेदन सूचना प्रकाशित भएको मितिबाट १५ दिनभित्र पेश गर्न आग्रह गरेको हो।

आयोगका अनुसार काठमाडौं उपत्यकाका संस्थाले आयोगमै निवेदन पेश गर्न सक्नेछन् भने अन्य जिल्लाका संस्थाले सम्बन्धित प्रदेश निर्वाचन कार्यालय वा जिल्ला निर्वाचन कार्यालयमार्फत निवेदन बुझाउनुपर्नेछ।

निवेदनका साथमा निम्न कागजातहरू संलग्न गर्नुपर्ने आयोगले स्पष्ट पारेको छः
१. संस्था दर्ताको प्रमाणपत्रको प्रतिलिपि
२. संस्थाको विधानको प्रतिलिपि
३. संस्था नविकरण भएको निस्साको प्रतिलिपि
४. कार्य समितिका पदाधिकारीहरूको नामावली
५. राष्ट्रिय वा अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षणको अनुभव भए सोको प्रमाण
६. पर्यवेक्षण सम्बन्धी संस्थाले तयार पारेको ब्रोसर, पुस्तिका, निर्देशिका वा अन्य प्रकाशनको प्रति
७. यसअघिको निर्वाचनमा पर्यवेक्षण गरेको भए त्यसको प्रतिवेदन आयोगमा बुझाएको प्रमाण

आयोगका अनुसार निर्वाचन सम्बन्धी कसूर गरी वा आचारसंहिता उल्लङ्घन गरी सजाय पाएको संस्था, साथै अघिल्ला निर्वाचनमा पर्यवेक्षणको अनुमति लिएर पनि प्रतिवेदन नबुझाउने संस्थालाई अनुमति नदिइनेछ।

त्यस्तै, कुनै पनि पर्यवेक्षकले आफ्नो स्थायी बसोबास भएको वा मतदाता नामावलीमा नाम समावेश भएको क्षेत्रमा पर्यवेक्षण गर्न नपाउने आयोगले जनाएको छ।

Facebook Comments Box