टी-२० विश्वकपको आफ्नो दोस्रो खेलमा वेष्टइन्डिजले युगान्डालाई १३४ रनले हरायाे

काठमाडौँ, २७ जेठ – टी-२० विश्वकप-२०२४ को आफ्नो दोस्रो खेलमा वेष्टइन्डिजले युगान्डालाई फराकिलो अन्तरमा पराजित गरेको छ । प्रोविडेन्समा आज बिहान भएको खेलमा वेष्टइन्डिजले युगान्डालाई सस्तैमा समेट्दै १३४ रनले पराजित गरेको हो । वेष्टइन्डिजले दिएको १७४ रनको लक्ष्य पछ्याएको युगान्डा १२ ओभरमा मात्र ३९ रन बनाएर अलआउट भयो ।

युगान्डाका जुमा मियागीले अविजित १३ रन बनाउनुबाहेक अन्य कसैले पनि दोहोर अंक जोड्ने मौका नै पाएनन् । युगान्डालाई सस्तैमा समेट्ने क्रममा वेष्टइन्डिजका अकिल हुसैनले एक्लै ५ विकेट लिए । यस्तै, अल्जारी जोसेफले २, रोमारियो शेफर्ड, आन्द्रे रसेल र गुडाकेश मोतीले एक/एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वेष्टइन्डिजले ५ विकेटको क्षतिमा १७३ रन बनाएको थियो । वेष्टइन्डिजका जोनसन चार्ल्सले ४४, आन्द्रे रसेलले ३०, रोभम्यान पावेलले २३, शेरफेन रदरफोर्ड र निकोलस पुरनले २२/२२, ब्रेन्डन किंगले १३ र रोमारियो शेफर्डले ५ रन जोडे ।

युगान्डाका ब्रायन मसाबाले २, दिनेश नाक्रानी, कसमस केइवुता र अल्पेश रामजानीले एक/एक विकेट लिए । वेष्टइन्डिजले पहिलो खेलमा पपुवा न्यूगिनीलाई पराजित गरेको थियो भने अफगानिस्तानसँग पराजित भएको युगान्डाले अर्को खेलमा पपुवान्यूगिनीलाई नै पराजित गरेको थियो ।

Facebook Comments Box