अलैँचीको मूल्यमा गिरावट, दशैँअघि बजारमा आपूर्ति बढ्ने अनुमान

झापा, ३ असोज – नगदे बाली अलैँचीको बजार मूल्यमा गिरावट आएको छ। नेपाल अलैँची व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष दीपक नेपालका अनुसार विर्तामोडमा आज प्रतिमन (४० किलो) अलैँची विभिन्न ग्रेडअनुसार रु ८१ हजारदेखि रु ९२ हजारसम्ममा बिक्री भइरहेको छ।

उत्कृष्ट गुणस्तरको ‘बोल्ड’ अलैँची प्रतिमन रु ९२ हजारमा र सामान्य ‘चालु’ गुणस्तरको प्रतिमन रु ८१ हजारमा कारोबार भइरहेको छ। मध्यम गुणस्तर ‘जेजे’ अलैँचीको मूल्य भने रु ८४ हजार छ।

भदौको पहिलो साता प्रतिमन रु ९४ हजारसम्म पुगेको मूल्य अहिले घटेको हो। दशैँ नजिकिँदै किसानले घरायसी खर्च टार्नका लागि अलैँची बजारमा ल्याउन थालेको र लेकाली क्षेत्रमा धमाधम सुकाउने काम भइरहेकाले बजारमा अझै आपूर्ति बढ्ने अनुमान गरिएको अध्यक्ष नेपालले जानकारी दिए।

नेपालका ४२ जिल्लामा अलैँचीखेती हुने गर्छ, जसमा कोशी प्रदेशका इलाम, पाँचथर, ताप्लेजुङ, सङ्खुवासभा, खोटाङ, भोजपुर र तेह्रथुम प्रमुख उत्पादन क्षेत्र हुन्।

मुलुकभर १७ हजार हेक्टर क्षेत्रफलमा अलैँचीखेती हुने र वार्षिक उत्पादन करिब ८ हजार मेट्रिक टन रहेको महासङ्घले जनाएको छ। उत्पादनको करिब ९५ प्रतिशत भारतसहित विदेश निर्यात हुन्छ।

गत आर्थिक वर्षमा मात्र काँकडभिट्टा नाकाबाट रु ७ अर्ब ६७ करोड बराबरको अलैँची भारत निर्यात भएको मेची भन्सार कार्यालयले जनाएको छ।

Facebook Comments Box