दाउन्नेमा पहिरो, बुटवल–नारायणगढ सडक पूर्ण अवरुद्ध

नवलपरासी, ३ असोज – पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने क्षेत्रमा लगातारको वर्षापछि पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख जनकराज बन्जाराले जानकारी दिए।

गत बुधबार बिहानदेखि एकतर्फी रूपमा सञ्चालन हुँदै आएको दाउन्ने खण्डमा आज दिउँसो फेरि पहिरो खस्दा आवागमन पूर्ण रूपमा रोकिएको हो। “हल्का वर्षामा पनि गाडी चिप्लिने अवस्था थियो, हिलो बाटोमा ट्रक फस्ने समस्या भइरहेका थिए। अहिले दिउँसो ठूलो पहिरो झरेपछि सडक पूर्ण अवरुद्ध भएको हो,” बन्जाराले बताए।

सडक खुलाउनका लागि डोजर र एक्साभेटर प्रयोग गरेर पहिरो पन्छाउने काम सुरु गरिएको नारायणगढ–बुटवल सडक आयोजनाले जनाएको छ। सडक खुल्न केही समय लाग्ने भएकाले यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न र आवश्यक परेमा यात्रा स्थगित गर्न आग्रह गरिएको छ।

Facebook Comments Box