यमनमा सरकारी सेना र हुथीबीचको झडपमा ६३ जनाको मृत्यु
काठमाडौं । यमनमा सरकारी सेना र हुथी विद्रोहीबीच पछिल्लो २४ घण्टामा भएका झडप तथा आक्रमणमा कम्तीमा ६३ जनाको मृत्यु भएको छ । साउदी समर्थित यमनी सरकारका एक सैन्य अधिकारीका अनुसार हुथीले ताइज र लाहज प्रान्तमा गरेको मिसाइल तथा ड्रोन आक्रमण र त्यसपछि भएका झडपमा २३ सरकारी सैनिक मारिएका छन् ।
हुथी स्रोतले भने ताइज प्रान्तमा साउदी नेतृत्वको आक्रमण तथा सरकारी सेनासँगको झडपमा आफ्ना ४० लडाकु मारिएको दाबी गरेको छ । यमनमा केही वर्षयता तुलनात्मक रूपमा शान्त रहेको अवस्था गत जुलाईदेखि पुनः बिग्रिएको थियो । गत साता हुथी समूहले गरेको अचानक आक्रमणपछि दुई पक्षबीचको द्वन्द्व थप चर्किएको बताइएको छ ।
हुथी लडाकुले साउदी अरेबियातर्फ समेत मिसाइल र ड्रोन प्रहार गर्दै आएका छन् । उनीहरूले तेल तथा सैन्य संरचनाका साथै साउदीका तेल बोक्ने पानीजहाजलाई समेत निशाना बनाइरहेको बताइएको छ । यसैबीच, बिहीबार साउदी अरेबियामा खसेको ड्रोनको भग्नावशेष लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । द्वन्द्व चर्किएपछि ड्रोनको भग्नावशेषबाट साउदीमा सर्वसाधारणको मृत्यु भएको यो पहिलो घटना भएको बताइएको छ ।

