जेनजी प्रदर्शनपछि अझै ८,८१६ कैदीबन्दी फरार
काठमाडौँ, ३ असोज – गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण देशभरका २७ कारागार र ९ बालसुधारगृहबाट कैदीबन्दी भागेका थिए।
कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार ती घटनामा देशभरका कुल २९,२१२ कैदीमध्ये १३,५९१ जना कैदीबन्दी फरार भएका थिए। त्यसैगरी १,४२२ बालसुधारगृहमा रहेका मध्ये ९६४ जना भागेका थिए।
भाग्ने घटना झुम्का, सोलुखुम्बु, सप्तरी, महोत्तरी, रौतहट, सिन्धुली, नक्खु, जगन्नाथदेवल, डिल्लीबजार, रसुवा, चितवन, तनहुँ, कास्की, पर्वत, कपिलवस्तु, तुलसीपुर, नौबस्ता, रुकुमपूर्व, जुम्ला, बझाङ, कैलाली, दार्चुला, बैतडी, डडेलधुरा र कञ्चनपुरलगायतका कारागारमा भएको विभागले जनाएको छ।
बालसुधारगृहतर्फ मोरङ, पर्सा, भक्तपुर, मकवानपुर, कास्की, रुपन्देही, जयन्डु, नौबस्ता र डोटीका सुधारगृहबाट कैदीबन्दी भागेका थिए।हालसम्म ५,४९५ कैदीबन्दी र २४४ बालसुधारगृहका कैदी फिर्ता भइसकेका छन्।
अझै ८,८१६ जना फरार रहेका र उनीहरूको खोजी कार्य जारी रहेको विभागले जानकारी दिएको छ। नेपाल प्रहरीको हिरासतमा रहेका केही कैदीबन्दी पनि फरार रहेको र उनीहरूको खोजी पनि भइरहेको प्रहरीले जनाएको छ।

