बेनी–जोमसोम सडकमा राति सवारी सञ्चालनमा रोक लगाइने

म्याग्दी, २६ साउन

पहिरोको जोखिमका कारण बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा स्थानीय प्रशासनले राति सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ।

जिल्ला सुरक्षा समिति म्याग्दी र मुस्ताङको संयुक्त निर्णय अनुसार यही साउन २७ गतेदेखि साँझ ६ बजेदेखि बिहान ५ बजेसम्म बेनीदेखि घाँसासम्मको सडकमा सवारी आवतजावत पूर्णरूपमा बन्द गरिनेछ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले अर्को सूचना नआउन्जेलसम्म रातिको समयमा सवारी आवतजावत बन्द रहने जानकारी दिनुभयो।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले पहिरोको जोखिम बढेकाले राति यात्रा नगर्न अनुरोध गर्दै दुई जिल्लाले प्रहरी चौकीमार्फत समन्वय गरेर निर्णय कार्यान्वयन गर्ने बताए।

बेनी–जोमसोम सडक स्तरोन्नतिको अन्तिम चरणमा रहेको छ भने पहिरो पन्छाउने कार्य सडक योजना कार्यालयले गरिरहेको छ। सडक क्षेत्रमा रघुगङ्गा गाउँपालिका, अन्नपूर्ण गाउँपालिका लगायतका ठाउँमा पहिरो खस्ने समस्या देखिएको छ।

Facebook Comments Box