रवि लामिछानेलाई थुनामै पठाउने आदेश
काठमाडौँ, २६ साउन
रुपन्देही जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई रिहा गर्ने माग अस्वीकृत गरेको छ।न्यायाधीश नारायण सापकोटाको इजलासले लामिछानेको थुनामुक्ति निवेदनमाथि बहस गरी रिहा नहुने आदेश सुनाएको हो।
लामिछानेले बुटवलको सुप्रिम सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा बिगो दाबी बराबरको बैंक ग्यारेन्टी बुझाइसकेकाले थुनामुक्ति माग गरेका थिए। उनले २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक ग्यारेन्टीसमेत अदालतमा पेश गरेका थिए।
सुनुवाइ सोमबार भएको थियो भने लामिछाने हाल भैरहवा कारागारमा रहेका छन्। गत चैत २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो, जुन सर्वोच्च अदालतले समेत पुष्टि गरेको थियो।
लामिछानाविरुद्ध कास्की, काठमाडौँ, चितवन र पर्सामा पनि सहकारी ठगीका मुद्दा दायर छन् भने कास्कीमा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा पनि छ, जसका कारण उनको सांसद पद पनि निलम्बित गरिएको छ।

