जनकपुरधाम महोत्सवः मैथिली सांस्कृतिक पुनर्जागरणको उत्सव
जनकपुरधाम, १५ फागुन – “जनकपुरधाम केवल एउटा सहर होइन, यो आफैँमा जीवित सङ्ग्रहालय र चिन्तनको पाठशाला हो,” मधेस प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले व्यक्त गरेको धारणा यतिबेला जनकपुरको सांस्कृतिक पहिचानसँग जोडिएको छ।
जनकपुरधाममा विगत एक दशकदेखि आयोजना हुँदै आएको ‘जनकपुरधाम साहित्य–कला तथा अन्तरराष्ट्रिय नाट्य महोत्सव’को पाँचौँ संस्करण फागुन ५ देखि ८ गतेसम्म सम्पन्न भएको छ। प्रत्येक दुई वर्षमा आयोजना हुने महोत्सव यसपटक पनि साहित्य, कला, नाटक र सांस्कृतिक बहसका माध्यमबाट मैथिली सभ्यताको पुनर्जागरणका स्वर उजागर गर्न सफल भएको आयोजकले जनाएको छ।
महोत्सव मैथिली विकास कोषको आयोजनामा २०७३ सालदेखि निरन्तर हुँदै आएको हो। आयोजकका अनुसार पाँचौँ संस्करणसम्म आइपुग्दा महोत्सवले मैथिली भाषा, कला र पहिचानलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा स्थापित गर्ने स्पष्ट उद्देश्य अघि सारेको छ।
कोषका अध्यक्ष जीवनाथ चौधरीका अनुसार महोत्सव उत्सवमात्र नभई सांस्कृतिक संरक्षण र पुस्तान्तरणको अभियान हो। “हाम्रो इतिहासको समृद्धि देखाउनुमात्र होइन, त्यसलाई कसरी जोगाउने र नयाँ पुस्तामा हस्तान्तरण गर्ने भन्ने विमर्श पनि आवश्यक छ,” उहाँले भन्नुभयो।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले महोत्सवलाई ‘मैथिली जरुवा संस्कृति’को सिर्जनात्मक मञ्चका रूपमा व्याख्या गर्नुभयो। उहाँका अनुसार यसले स्थानीय कला र भाषालाई राष्ट्रिय भावधारासँग जोड्दै अन्तरराष्ट्रिय पहिचान विस्तारमा टेवा पुर्याइरहेको छ।
त्यस्तै राजर्षिजनक विश्वविद्यालयका उपकुलपति प्रा. डा. अमरप्रसाद यादवले महोत्सवले मिथिलाको सांस्कृतिक ऊर्जा नयाँ पुस्तासम्म पुर्याउन सहयोग गरेको बताउनुभयो। “अरिपन, भजन, नचारी र नाट्य परम्पराले समाजको यथार्थ प्रतिबिम्बित गर्छ,” उहाँले उल्लेख गर्नुभयो।
शोभायात्रा र सांस्कृतिक झाँकी
महोत्सवको पहिलो दिन आयोजना गरिएको शोभायात्रा र सांस्कृतिक झाँकी प्रदर्शनी मुख्य आकर्षणका रूपमा रहेको थियो। मिथिलाको परम्परागत पहिरन, बहुभाषिक तथा बहुसांस्कृतिक प्रस्तुतिले जनकपुरका सडकलाई सांस्कृतिक रङ्गमञ्चमा परिणत गरेको सहभागीहरूको भनाइ छ।
मधेस प्रज्ञा प्रतिष्ठानका अध्यक्ष रामभरोस कापडी ‘भ्रमर’ले मिथिलाको विविधता प्रत्यक्ष अनुभूति गराउने माध्यमका रूपमा शोभायात्रालाई चित्रण गर्नुभयो। विभिन्न समुदायको सहभागिताले समावेशी मिथिलाको सन्देश दिएको उहाँको भनाइ थियो।
नाटक र विमर्शमार्फत समसामयिक बहस
चारदिने महोत्सवअन्तर्गत ‘उठलै किए विहाडि ?’, ‘नागरिक आन्दोलनः भूत, वर्तमान र भविष्य’, ‘सुगम प्रदेशमे दुर्लभ शिक्षा’, ‘लेबर सोल्जर’ र ‘सीमान्तक स्वर’ जस्ता विषयमा विमर्श गरिएको थियो। भाषा, शिक्षा, रोजगारी, राजनीतिक चेतना र सीमान्त समुदायका मुद्दामाथि बहस केन्द्रित भएको आयोजकले जनाएको छ।
वरिष्ठ पत्रकार एवं कोषका सदस्यसचिव श्यामसुन्दर शशीका अनुसार मैथिली राष्ट्रियता भावनात्मक विषयमात्र नभई राजनीतिक चेतनासँग समेत जोडिएको छ। उहाँले चुरे संरक्षण, पानी संकट र शिक्षा–रोजगारीका सवाललाई सांस्कृतिक विमर्शसँग जोड्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
सहकार्य र प्रतिबद्धता
मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले महोत्सवलाई प्रदेशका सबै भाषा, साहित्य र संस्कृतिको साझा मञ्चका रूपमा चित्रण गर्दै आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीले पनि भाषा र संस्कृतिप्रति गौरव बढाउन महोत्सव सफल भएको उल्लेख गर्नुभयो।
जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले विविधता र एकताको भावना सुदृढ गर्न महोत्सवले योगदान दिएको बताउनुभयो। आयोजकका अनुसार प्रदेश सरकारको शिक्षा तथा संस्कृति मन्त्रालय, जनकपुरधाम उपमहानगरपालिका, राजर्षिजनक विश्वविद्यालय र निजी क्षेत्रको सहकार्यमा सम्पन्न महोत्सवले युवा पुस्तामा मैथिली भाषा र संस्कृतिप्रति आत्मविश्वास बढाउन मद्दत पुर्याएको छ।
वक्तृत्वकला, चित्रकला प्रदर्शनी, पुस्तक मेला र नाट्य प्रशिक्षणजस्ता कार्यक्रमले पुस्तान्तरणको प्रक्रिया सुदृढ बनाएको विश्वास गरिएको छ। हरेक दुई वर्षमा आयोजना हुने यो महोत्सव मिथिलाको साझा विरासतको उत्सव र एकीकृत भविष्यको सङ्कल्पका रूपमा विकसित हुँदै गएको आयोजकको दाबी छ।

