नेपालले दिगो, समावेशी र जलवायु उत्थानशील कृषि क्षेत्र निर्माणको प्रतिबद्धता लिएको छः मन्त्री अधिकारी
ललितपुर, २७ साउन
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपालले दिगो, समावेशी र जलवायु उत्थानशील कृषि क्षेत्र निर्माणको प्रतिबद्धता जनाएको बताएका छन्।
‘पारिवारिक खेती र समावेशी ग्रामीण रूपान्तरणः जलवायु परिवर्तनको सन्दर्भमा दिगो विकासका लागि नवप्रवर्तन’ विषयक अन्तर–क्षेत्रीय संवाद कार्यक्रममा आज ललितपुरमा बोल्दै मन्त्री अधिकारीले जलवायुमैत्री कृषि,
दिगो पशुपालन र आधुनिक प्रविधि प्रवर्द्धनलाई प्राथमिकता दिइएको बताए। उनले सिँचाइ विस्तार, शीत भण्डारण सुविधा र मूल्य शृङ्खला विकासमा लक्षित लगानीमार्फत किसानको उत्पादनलाई छिटो, सुरक्षित र नाफामूलक रूपमा बजारसम्म पुर्याउने प्रयास भइरहेको उल्लेख गरे।
मन्त्री अधिकारीले नेपाल जलवायु परिवर्तनबाट अत्यन्त संवेदनशील भएको बताउँदै अनिश्चित मौसम, बाढी, सुक्खा र पहिरोका कारण जीवनयापन र खाद्य सुरक्षामा खतरा बढेकोमा चिन्ता व्यक्त गरे।
उनले बाली विविधीकरण, माटो स्वास्थ्य सुधार, दिगो जल व्यवस्थापन र विपत्तिसहनशील बाली प्रजातिको प्रवर्द्धनका लागि सरकार योजनाबद्ध रूपमा अघि बढेको जानकारी दिए।
क्षेत्रीय सहकार्यको आवश्यकता औंल्याउँदै मन्त्री अधिकारीले जलवायु तथ्याङ्क आदानप्रदान, प्रारम्भिक चेतावनी प्रणाली र सीमा–पार विपत्ति पूर्वतयारी सुदृढीकरणमा सहकार्यको आह्वान गरे।
पारिवारिक खेतीलाई आर्थिक मात्र नभई सांस्कृतिक र खाद्य सुरक्षाको आधार मान्दै उनले यसलाई सम्मानजनक र नाफामूलक पेशा बनाउन ठोस कदम चाल्न सहभागीहरूलाई आग्रह गरे।
कार्यक्रममा सङ्घीय संसद् प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुमदेवी थापाले किसानमैत्री कानुन निर्माण, सहकारी खेती प्रवर्द्धन र सीमान्तकृत समुदायका लागि उच्च प्रतिफल दिने योजनाको आवश्यकता औंल्याइन्।
कृषि मन्त्रालयका सचिव गोविन्द शर्माले यो छलफलले पारिवारिक खेती प्रणाली र कृषि क्षेत्रमा जलवायु परिवर्तनका प्रभाव न्यूनीकरणमा महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे।

