सडक विस्तारपछि तनहुँमा सवारी दुर्घटनामा वृद्धि, एक वर्षमा ६२ जनाको मृत्यु
तनहुँ, ७ साउन – पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन–पोखरा सडक खण्डमा सवारी सहज भए पनि दुर्घटनामा उल्लेख्य वृद्धि भएको छ। जिल्ला ट्राफिक कार्यालय तनहुँका अनुसार, आर्थिक वर्ष २०८१/८२ मा ९० वटा सवारी दुर्घटनामा ६२ जनाको मृत्यु भएको छ।
मृतकमध्ये ३५ जना पुरुष, २२ महिला, २ बालक र ३ बालिका रहेका छन्। यस अवधिमा ७६ जना गम्भीर घाइते र ४३ जना सामान्य घाइते भएका ट्राफिक प्रमुख कृष्णबहादुर चन्दले जानकारी दिनुभयो।
ट्राफिक तथ्याङ्क अनुसार,
➡️ ४१ मोटरसाइकल,
➡️ १६ बस,
➡️ १४ जीप/कार,
➡️ ७ ट्याङ्कर,
➡️ ५ टिपर,
➡️ ३ माइक्रो,
➡️ ४ ट्याक्टर दुर्घटनामा परेका थिए।
गत वर्ष अर्थात् आर्थिक वर्ष २०८०/८१ मा ५० वटा सवारी दुर्घटनामा ३९ जनाको मृत्यु भएको थियो। २०७९/८० मा भने ५२ जनाको ज्यान गएको ट्राफिक कार्यालयको विवरणमा उल्लेख छ। ट्राफिक प्रमुख चन्दका अनुसार,
“सडक विस्तारपछि यात्रुका लागि सहज भए पनि, घुम्तीहरू यथावत् भएकाले दुर्घटनाको जोखिम बढेको देखिन्छ।”
मुग्लिन–पोखरा सडकखण्डको करिब ७२ किलोमिटर दूरीमा धेरै घुम्तीहरू छन्। विशेषतः नयाँ यात्रु घुम्तीको जानकारी नहुँदा दुर्घटनामा पर्ने सम्भावना बढी हुने उनको भनाइ छ। उहाँले यात्रुहरूलाई सचेत भएर यात्रा गर्न आग्रह गर्नुभएको छ।

