प्रतिनिधि सभा निर्वाचन २०८२ : देशभर मतदान सुरु
काठमाडौं, २१ फागुन – प्रतिनिधि सभा निर्वाचन २०८२ को मतदान आज बिहान ७ बजेदेखि देशभर सुरु भएको छ। निर्वाचन आयोग ले देशव्यापी रूपमा शान्तिपूर्ण ढंगले मतदान प्रारम्भ भएको जनाएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई ले बिहान ७ बजेदेखि सबै मतदान केन्द्रमा निर्वाध रूपमा मतदान सुरु भएको जानकारी दिनुभयो। मतदाताले अपराह्न ५ बजेसम्म मतदान गर्न पाउनेछन्।
मतदानका लागि मतदाता परिचयपत्रका साथै नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, सवारीचालक अनुमतिपत्र, राहदानी वा लालपूर्जा देखाएर मतदान गर्न सकिने व्यवस्था गरिएको छ। महिला र पुरुषका लागि छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको छ भने अपांगता भएका व्यक्ति, अशक्त, वृद्धवृद्धा, बिरामी, सुत्केरी तथा गर्भवतीलाई विशेष सुविधा प्रदान गरिनेछ।
निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदान स्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको छ। तीमध्ये ३ हजार ६८० मतदान केन्द्र अति संवेदनशील, ४ हजार ४४२ संवेदनशील र २ हजार ८४५ सामान्य रूपमा वर्गीकृत गरिएको छ। साथै १४३ अस्थायी मतदानस्थल तय गरिएको छ।
निर्वाचन सुरक्षाका लागि ७९ हजार ७२७ नेपाली सेना, ७५ हजार ७९७ नेपाल प्रहरी, ३४ हजार ५६७ सशस्त्र प्रहरी बल, १ हजार ९२१ राष्ट्रिय अनुसन्धान विभाग र १ लाख ४९ हजार ९० निर्वाचन प्रहरी परिचालन गरिएको छ। यसका साथै करिब २ लाख १५ हजार सरकारी कर्मचारी निर्वाचनमा खटिएका छन्।

