नेवार समुदायले आज गाथामग चह्रे पर्व परम्परागत रूपमा मनाउँदै

भक्तपुर, ७ साउन –  साउन कृष्ण चतुर्दशीको दिन नेवार समुदायले आज गाथामग चह्रे पर्व (घण्टाकर्ण चतुर्दशी) परम्परागत रूपमा हर्षोल्लाससाथ मनाउँदै छन्। यो पर्व घरको स्वस्तीशान्तिका लागि भूतप्रेत मन्छाउने र चाडपर्वको सुरुआतको प्रतीकको रूपमा विशेष मानिन्छ।

भक्तपुर, काठमाडौँ र ललितपुरका नेवार समुदायले बिहानैदेखि घर सफा गर्ने, जल छर्केर शुद्ध बनाउने, र बौ वाय् ज्या (भूत पन्छाउने अनुष्ठान) गरी गथामग चह्रे मनाइरहेका छन्।

भूत पन्छाउने परम्परा

नेवार समुदायमा गाथामग चह्रे पर्वको दिन घरआँगनमा भूत पन्छाउने परम्परा अन्तर्गत, माटोको भाँडो (सलिचा) मा चिउराको धुलो, लसुन, कालो भटमास, रगत, खुर्सानी, जाँडको कटलगायत सामग्री राखी बत्ती बालिन्छ र उक्त सामग्रीलाई दोबाटो वा टोलको छेवामा लगेर छाडिन्छ। यसैलाई बौ वाय् ज्या भनिन्छ। कतिपय ठाउँमा कुखुराको बलि दिने परम्परासमेत छ।

त्यसपछि, घरको मूलढोकामा पञ्चरङ्गी ध्वजासहित मयुर प्वाँख र तीनखुट्टे फलामको किला ठोक्ने परम्परा छ, जसले भूतप्रेत प्रवेश गर्न नदिने विश्वास गरिन्छ। बालबालिकालाई फलामको कली वा तामाको औँठी लगाइने चलन छ भने युवतीहरूले खुट्टामा टाटु खोप्ने गर्दछन्।

छ्वाली प्वाः वायगु ज्या — भूत हटाउने धुँवा अनुष्ठा

साँझपख छ्वालीको मुठा (कर्कलो, सिस्नो, मकैघोगा, आरुको हाँगा र विशेष फूल राखिएको गथामगको छ्वाली) बालेर घरको माथिबाट तल्लोभागसम्म धुँवा घुमाइन्छ र त्यसलाई नेवार संस्कारमा छ्वास भनिने स्थानमा लगेर फालिन्छ।

यस्तै, गथामुग नाम दिइएको राक्षसको प्रतीक बनाइएको नर्कट तथा छ्वालीको पुत्लालाई टोलटोलमा राखिन्छ, बालबालिकालाई पैसा उठाउन पठाइन्छ र साँझपख जुलुससहित नगर बाहिर लगेर दहन गरिन्छ। यसपछि गाईजात्रा सुरु भएको जनाउने परम्परा अनुसार घिनताङघिसी नृत्य गरिन्छ।

धार्मिक, सांस्कृतिक र ऐतिहासिक मान्यता

संस्कृतिविद् प्रा. डा. पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार यो पर्व करिब दुई हजार वर्ष अघिदेखि काठमाडौँ उपत्यकामा मनाउँदै आएको पाइन्छ। यो पर्व नकारात्मक सोच र व्यवहार हटाई व्यक्ति, परिवार र समाजमा शान्ति ल्याउने प्रेरणा दिने पर्वको रूपमा लिइन्छ।

लोककथन अनुसार, घण्टाकर्ण भगवान विष्णुका भक्त थिए जसले शिवको पूजा गर्न नमानेपछि विष्णुले आफू र शिव एउटै भएको देखाउन ‘हरिहर’ रूप देखाए। शिवको नाम सुन्न नपरोस् भनेर उनले कानमा ठूला घण्टा झुण्ड्याउने गर्थे, त्यसैले उनलाई ‘घण्टाकर्ण’ भनियो।

गाईजात्रा तयारी र नवदुर्गा मुखुण्डो बनाउने शुभारम्भ

गथामग पर्वसँगै नेवार समुदायमा गाईजात्रा पर्वको तयारी प्रारम्भ हुन्छ। विभिन्न प्याखं नृत्य, भैरव नाच, देवी नाच, व्यङ्ग्य नाटक आदिको प्रशिक्षण सुरु गरिन्छ। यसै दिन भक्तपुरको प्रसिद्ध नवदुर्गा देवगणका मुखुण्डो बनाउने कार्य शुभारम्भ गरिन्छ। चित्रकारले कालो माटो प्रयोग गरी महादेवको प्रतिमा बनाउने पूजा सम्पन्न गरी नयाँ जात्राको सुरुआत गरिन्छ।

भक्तपुरका प्रमुख मन्दिरहरू — वाखुपति नारायण, तिलमाधव नारायण, दत्तात्रय, लोकेश्वर, यातु महादेव, दिपङ्कर बुद्धलगायत, र शक्तिपीठहरूमा श्रद्धालुको भीड लागेको छ।

गथामग पर्वलाई “सिनाज्या ब्यंकेगु” अर्थात् धान रोपाइँ सकिएको घोषणा गर्ने पर्वका रूपमा पनि मनाइन्छ। यस दिनदेखि चाडपर्वहरूको सिलसिला सुरु हुने विश्वास नेवार समुदायमा गहिरो रूपमा जरा गाडेको पाइन्छ।

Facebook Comments Box