सडकपेटीको हटबजार व्यवस्थापन: गोलबजारको हटिया स्थानान्तरण

सिरहा, ८ साउन – सिरहाको गोलबजार नगरपालिकामा पूर्व–पश्चिम राजमार्गको सडकपेटीमै नियमित रूपमा लाग्दै आएको गुद्री हटबजार (हटिया) अब अन्यत्र सारिएको छ। नगरपालिकाको वडा नं ४ स्थित हटियालाई करिब २०० मिटर उत्तरतर्फ धमिनि मन्दिर नजिकको स्थानमा स्थानान्तरण गरिएको हो।

नगरप्रमुख श्यामकुमार श्रेष्ठको निर्देशनमा सडक अतिक्रमण हटाउँदै हटबजारलाई नयाँ स्थानमा सारिएको हो। उहाँका अनुसार हटिया सडकमै लाग्दा सवारी सञ्चालनमा अवरोध सिर्जना हुनुका साथै सर्वसाधारणको दैनन्दिन गतिविधिमा असर परिरहेको थियो।

“सडकपेटी सार्वजनिक सम्पत्ति हो,” प्रमुख श्रेष्ठले भन्नुभयो, “यसलाई खुला र सुरक्षित राख्नु सबैको साझा जिम्मेवारी हो।” उहाँले हटबजार व्यवस्थापनले कञ्चनपुर–कमला सडक स्तरोन्नति कार्यमा समेत सहजता ल्याएको जानकारी दिनुभयो।

गोलबजार उद्योग व्यापार सङ्घका पूर्वअध्यक्ष भरत अग्रवालले हटबजार स्थानान्तरणलाई सकारात्मक पहल भन्दै स्वागत गर्नुभयो। “सडकपेटीमा हाट लाग्दा दुर्घटनाको जोखिम थियो, ट्राफिक व्यवस्थापनमा समस्या थियो,” उहाँले भन्नुभयो, “अब त्यसबाट छुटकारा मिल्ने विश्वास गरेका छौं।” नगरपालिकाले हटबजारलाई थप व्यवस्थित र दीगो बनाउने योजना अघि सारेको पनि जनाएको छ।

Facebook Comments Box