दुई दशकदेखि पुलमुनि बास, पुनःस्थापनाको आशमै सुकुम्बासी

कञ्चनपुर, ५ साउन – शुक्लाफाँटा नगरपालिका–११ स्थित बनहरा पुलमुनि २८ परिवार विगत दुई दशकदेखि अस्थायी रूपमा बसोबास गर्दै आएका छन्। डडेल्धुराको आलिताल गाउँबाट विसं २०६२ सालमा पहिरोका कारण विस्थापित भएका दलबहादुर बोहरा त्यहीबेलादेखि बनहरा पुलको ओतमा जीवन बिताइरहनुभएको छ। उहाँले भन्नुभयो, “२० वर्ष भयो, पुलमुनि पाल टाँगेर बस्दै आएको। घरघडेरी त के, गुजारा चलाउने पनि मुस्किल छ।”

विस्थापित परिवारहरूले राजमार्गको छेउमा पाल र जस्ता पाता टाँगेर टहरा बनाएका छन्। बर्खाको समयमा नदीमा आउने बाढीबाट बच्न अग्लो स्थान रोजिएको उनीहरू बताउँछन्। “हिउँदमा त जेनतेन गुजारा चल्छ, तर वर्षातमा सर्प, जनावर र बाढीको त्रासले सुत्नै नसक्ने अवस्था हुन्छ,” बोहराले भन्नुभयो।

सुकुम्बासी लक्ष्मण विष्टका अनुसार चुनावका बेला नेताहरूले सुरक्षित बसोबासको आश्वासन दिन्छन् तर कार्यान्वयनमा ल्याउँदैनन्। “हामीले स्थानीय सरकारलाई पटक–पटक माग गर्यौं, तर सुनुवाइ भएको छैन,” विष्टले भन्नुभयो।विस्थापित परिवारहरू दैनिक ज्यालामजदुरी गरेर जीविकोपार्जन गर्दै आएका छन्।

तर पछिल्लो समय कामको अभावले साँझ बिहानको छाक टार्न मुस्किल भइरहेको उनीहरूको भनाइ छ। १३ वर्ष भारतमा मजदुरी गरेर फर्किएका प्रेमबहादुर साउदले नेपाल आएपछि पनि काम नपाएको गुनासो गर्नुभयो। “छोराछोरीको पढाइ, खानपिन, सबै कुरामा अभाव छ,” उहाँले भन्नुभयो।

सुकुम्बासीका अनुसार शुक्लाफाँटा नगरपालिकाले उनीहरूलाई पहिचानपत्र (‘निस्सा’) दिएको भए पनि जग्गा उपलब्ध गराउन सकेको छैन। बालबालिकाले माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने भनिए पनि विभिन्न शुल्क तिर्न नसक्दा विद्यालय जान नपाएको उनीहरूको गुनासो छ।

Facebook Comments Box