खानेपानीमन्त्री यादवद्वारा राति छड्के अनुगमन, मेलम्ची आपूर्ति तयारी अन्तिम चरणमा
काठमाडौँ, ५ साउन – खानेपानी, सिँचाइ तथा जलस्रोत मन्त्री प्रदीप यादवले उपत्यकावासीका लागि बहुप्रतिक्षित मेलम्ची खानेपानी आपूर्ति प्रणालीको कार्यलाई थप प्रभावकारी बनाउन शनिबार राति छड्के अनुगमन गर्नुभएको छ।प्रधानमन्त्री निवास बालुवाटारदेखि नक्साल, टुँडालदेवी, विशालनगर, वङ्शीधर मार्ग र सुवर्णशम्शेर सडक क्षेत्रसम्म मेलम्ची खानेपानीको पाइपलाइन बिछ्याइएको स्थानमा मन्त्री यादवले स्थलगत निरीक्षण गर्नुभएको हो।
अनुगमनका क्रममा मन्त्री यादवले पाइपलाइन बिछ्याइएको क्षेत्रमा शीघ्र दबाब परीक्षण (प्रेसर टेष्ट) सम्पन्न गरी मेलम्चीको पानी वितरण सुरु गर्न निर्देशन दिनुभएको छ। उहाँले भन्नुभयो, “मेलम्ची आपूर्ति प्रणालीअन्तर्गत बालुवाटारलगायत क्षेत्रमा पाइपलाइन बिछ्याउने कार्य सफल भएको पाइएको छ। ती क्षेत्रमा चाँडै मेलम्चीको पानी वितरण गर्न निर्देशन दिइएको छ।”
आयोजना कार्यान्वयन निर्देशनालय (PID) का अनुसार बालुवाटारस्थित प्रधानमन्त्री निवास तथा आसपासका क्षेत्रमा ३१५ मिमि र २८० मिमि व्यासको एचडीपीई (HDPE) पाइप तेर्सो दिशात्मक ड्रिलिङ (HDD) प्रविधिबाट बिछ्याइएको छ। आयोजना प्रमुख लक्ष्मी उपाध्यायका अनुसार अहिले पाइपलाइनको दबाब परीक्षण तयारीको चरणमा रहेको छ।
परीक्षण सफल भएपछि ‘DMA H–2’, ‘I–3’, ‘I–4’ र ‘I–5’ क्षेत्र अन्तर्गत बालुवाटार, नक्साल (भाटभाटेनी पूर्व), टुँडालदेवी, विशालनगर, वङ्शीधर मार्ग पश्चिम तथा सुवर्णशम्शेर सडकमा मेलम्चीको पानी आपूर्ति सुरु गरिनेछ। उपाध्यायका अनुसार पानी आपूर्ति सुरु भएपछि उक्त क्षेत्रका करिब ३,५०० घरधुरी प्रत्यक्ष लाभान्वित हुनेछन्।
आयोजना प्रबन्धक अमित रञ्जितले काठमाडौँ उपत्यकावासीलाई शुद्ध, स्वच्छ र नियमित खानेपानी आपूर्ति गर्ने दीर्घकालीन लक्ष्य अनुरूप पाइपलाइन बिछ्याउने कार्य भइरहेको जानकारी दिनुभयो।

