बिपी कोइराला क्यान्सर अस्पतालमा पहिलोपटक ‘बोनम्यारो’ प्रत्यारोपण सेवा सञ्चालनको तयारी
चितवन, २१ साउन – भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा पहिलोपटक ‘बोनम्यारो’ अर्थात् रक्तमासी प्रत्यारोपण सेवा सञ्चालनको तयारी सुरु गरिएको छ। नेपाल सरकारसँगको सहकार्यमा चीन सरकारले भवन निर्माण, अत्याधुनिक उपकरण खरिद तथा चिकित्सक र नर्सलाई तालिम उपलब्ध गराउने गरी परियोजना अघि बढाइएको हो।
अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. उमेश नेपालका अनुसार चिनियाँ प्राविधिक टोलीले हालै अस्पतालमा दुई सातासम्म बसेर आवश्यक पूर्वाधारको अध्ययन तथा प्राविधिक छलफल गरेको छ। नेपाल सरकारसँग पुनः सम्झौता भएपछि अस्पताल परिसरमा तीनतले नयाँ भवन निर्माण गरी सेवा सञ्चालनको प्रक्रिया अघि बढाइनेछ।
परियोजनामा करिब ३७ मिलियन चिनियाँ युआन खर्च हुने जनाइएको छ। पाँच शय्याको बोनम्यारो युनिट निर्माणसँगै आवश्यक उपकरण जडान र जनशक्ति विकासको जिम्मेवारी पनि चीन सरकारले लिनेछ। यसका लागि अस्पतालका चिकित्सक र नर्सहरू चीनमा विशेष तालिम लिइरहेका छन्।
अस्पतालका अनुसार यो स्तरको अत्याधुनिक बोनम्यारो प्रत्यारोपण सेवा नेपालमै पहिलो हुनेछ। सेवा सञ्चालनमा आएपछि बोनम्यारो प्रत्यारोपणका लागि विदेश जानुपर्ने बाध्यता हट्ने र बिरामीले स्वदेशमै कम खर्चमा उच्चस्तरीय उपचार सेवा पाउने अपेक्षा गरिएको छ।

