‘पत्रकारले निष्पक्षरुपमा कलम चलाउनुपर्छ’

काठमाडौँ, १९ कात्तिक – मुख्य निर्वाचन अधिकृतको कार्यालयका हेटाैडाका मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले आगामी निर्वाचन सम्पन्न गराउनका लागि पत्रकारीता क्षेत्रले निष्पक्ष रुपमा कलम चलाउनुपर्नेमा जोड दिनुभएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडामा आज आयोजना गरेको कार्यक्रममा उहाँले संहिताको पालना नगर्नेमाथि निर्वाचन आयोगको कारबाही गर्ने प्रावधान रहेकाले त्यसको पालन गर्न र गराउनमा पत्रकारले ध्यान दिनुपर्ने बताउनुभयो ।

निर्वाचन आचारसंहिता विपरीत जाने राजनीतिक दल र दलका नेता, निजामती सरकारी कर्मचारी तथा पत्रकारसमेत कारबाही हुने उल्लेख गर्दै मुख्य निर्वाचन अधिकृत निरौलाले निर्वाचनलाई निष्पक्ष तथा भयरहित बनाउनुपर्ने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले देशमा सुशासन र विकासका लागि निष्पक्ष निर्वाचन आवश्यक रहेको हुँदा पत्रकारले निर्वाचनलाई मर्यादित बनाउने वातावरण सिर्जना गर्नुपर्ने बताउनुभयो ।

जिल्ला निर्वाचन आचारसंहिता अनुगमन अधिकृत रमेश अर्यालले प्रमाणसहित जानकारी भएमा आचारसंहिता विपरीत कार्य गर्नेमाथि कारबाही हुने प्रतिबद्धता व्यक्त गर्नुभयो । मकवानुरका वरिष्ठ पत्रकार प्रताप विष्टले निर्वाचनको प्रचारप्रसार निर्वाचन आयोगले तोकेको मापदण्डअनुसार हुनुपर्ने तथा पत्रकारले निर्वाचनमा समाचार सङ्कलन गर्दा प्रशासनबाट कुनै बाधा विरोध गर्न नहुने वातावरण बनाउनुपर्ने आग्रह गर्नुभयो ।

Facebook Comments Box